शनिबार , फागुण २२, २०७७

विदेशबाट ६ महिनामा ४ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रियाे

विदेशबाट ६ महिनामा ४ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रियाे

२६ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना ‘साउन–पुष’ मा रेमिट्यान्स ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट अनुसार रेमिट्यान्स ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा ०.६ प्रतिशतले मात्र बढेको थियो । कोभिड– १९ महामारीका कारण गत आर्थिक वर्षमा फागुनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाहमा प्रभाव देखिएको भएपनि जेठदेखि क्रमशः रेमिट्यान्स आप्रवाहमा सुधार भएको थियो । त्यसयता रेमिट्यान्समा क्रमिक सुधार आइरहेको छ । कोभिड–१९ विरुद्धको खोप विकाससँगै नेपालीहरूको श्रम गन्तव्यमा आर्थिक पुनस्र्थापनाले रेमिट्यान्सको आप्रवाह बढाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पछिल्ला महिनाहरूमा नेपालको आयात क्रमशः बढ्न लागेको भएपनि समग्र आयात भने ४.८ प्रतिशत संकुचन भएको छ । कोभिड–१९ पछि चीनसँगको स्थलमार्गबाट हुने व्यापार सुचारु हुन सकेको छैन । चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

चालु आवको पहिलो ६ महिनामा ६ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँको आयात भएको छ भने ६० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ । समीक्षा अवधिमा निर्यात भने गत वर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले बढेको हो । निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

यो अवधिमा मुलुकको भुक्तानी सन्तुलनको अवस्था ‘शोधनान्तर स्थिति’ एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँ बचतमा थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

विदेशी मुद्राको सञ्चिति असार मसान्तमा ११ अर्ब ६५ करोड डलर रहेकोमा पुष मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड डलर पुगेको छ । चालु आवको ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई ७ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ११.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.० प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १५.० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ । चालु आवको पहिलो ६ महिनामा मूल्य वृद्धि भने ३.५६ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय