पातीहाल्नामा आन्तरिक पर्यटकको ओइरो
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार २०:०:३४
२९ माघ, रुकुमपूर्व । रुकुम (पूर्व) र बागलुङ दुई जिल्लाको सिमानामा पर्ने पातीहाल्ना पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । दुई जिल्लाको सङ्गम उक्त ठाउँमा अहिले आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको उक्त ठाउँ पारिवारिक घुमघाम, कर्मचारीको छुट्टी मनाउने र अन्यको वनभोज जाने एवं मनोरञ्जन गर्नेहरुको थलो बनेको छ । पातीहाल्नादेखि हिँडेर एक घण्टा उकालो चढेपछि सुुन्दर ताल तिलाचन भेटिन्छन् । यो रोल्पा जिल्लामा पर्दछ । रुकुम (पूर्व) र बागलुङको सिमानामा भर्ने अर्को रिगल दह छ । यी ठाउँमा गएर रमाउने मानिसको सङ्ख्या दैनिक बढ्दो क्रममा छ ।
रुकुम (पूर्व)को भूमे गाउँपालिका र बागलुङको निसीखोला गाउँपालिकाको सङ्गम पातीहाल्ना अहिले सबैको मुखमा भुण्डिएको छ । दुई÷चार वर्षअघिसम्म पातीहाल्ना भनेको कहाँ हो भन्ने कुरा आसपासमै बसोवास गर्ने नागरिकलाई समेत थाहा थिएन । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग खुल्यो त्यसबेलादेखि पातीहाल्ना एकाएक चर्चामा आउन थाल्यो । जङ्गलैजङ्गल मात्र भएको उक्त ठाउँ अहिले यसरी पर्यटकको रोजाइमा पर्छ भन्ने कुरा त कसैले नि कल्पनासमेत नगरेको भूमे गाउँपालिका–१ लुकुमका बिनमाया मगरले जानकारी दिए । पातीहाल्नासम्मको यात्रा तय गरेर दैनिक गाडी र मोटरसाइकल लुकुम हुँदै जाने गरेको उनी बताउँछन् ।
विगत एक वर्षयता पातीहाल्नामा जाने पर्यटकको सङ्ख्या बढेको सिस्ने गाउँपालिका–६ का मनबहादुर बिसीले जानकारी दिए । पहिले त यस ठाउँको नामसमेत थाहा नभएको जनाउँदै उनले केही वर्षयता मध्यपहाडी लोकमार्ग खुलेपछि मात्र यात्राको क्रममा पातीहाल्नाको मनोरम दृश्यसँग साक्षात्कार गर्न पाएको बताए । “जति पटक म पातीहाल्नामा पुगेँ, कहिल्यै पनि आन्तरिक पर्यटकको कमी भएको पाइनँ”, उनले भने, “प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पातीहाल्नाले मानिसलाई आकर्षण गरिरहेको छ ।” यसलाई यहाँका सम्बन्धित निकायले थप व्यवस्थापन गर्न सके पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्न सकिने उनको भनाइ छ ।
सिस्ने–६ कै प्रकाश कार्कीले पातीहाल्ना क्षेत्रलाई स्थानीय तहले व्यवस्थितरूपमा लैजान सके आम्दानीको स्रोत बढ्ने र केही मानिसलाई रोजागारी दिन पनि सकिने जानकारी दिए । अन्य समयमा आन्तरिक पर्यटकको सङ्ख्या कहिल्यै शून्य नहुने उक्त ठाउँमा अहिले दैनिक दुई÷तीन हजारको हारहारीमा पर्यटक पुग्ने गरेका छन् । अहिले हिउँ पर्ने समय भएकाले हिउँ हेर्नकै लागि त्यहाँ मानिसको घुइँचो लाग्ने गरेको छ । शनिबारको दिनमा त पाँच÷सात हजारको सङ्ख्यामा मानिस पातीहाल्ना पुग्ने गरेको होटल व्यवसायी बर्त घर्तीेले जानकारी दिए । त्यस ठाउँमा मानिसको चहलपहल बढ्न थालेदेखि घर्तीका दुई दाजुभाइले दुई होटल स्थापना गरी सञ्चालनमा ल्याएको छ । दुईवटा होटलले मात्र त्यहाँ पुग्ने पर्यटकको माग र आवश्यकता धान्न मुस्किल परिरहेको उनले बताए ।
रुकुम (पूर्व)को माथिल्लो क्षेत्रमा हिमपात हुने गर्छ । तल्लो क्षेत्रमा हिउँ पर्दैन । रोल्पा, बागलुङलगायतका अन्य जिल्लाका बस्तीमा पनि हिउँ पर्दैन । त्यसैले गर्दा यो सयम हिउँ हेर्ने र खेल्ने, फोटो खिच्नेको छ्यापछ्याप्ती पाखैभरि देख्न सकिने रोल्पाका विमलराज डाँगीले बताउनुभयो । उनले पनि आफूहरु हिउँ खेल्नकै लागि रोल्पाबाट पातीहाल्ना पुगेको बताउँछन् । अहिले पातीहाल्नामा रुकुम (पूर्व), रोल्पा, बागलुङका विभिन्न ठाउँका साथै गुल्मी, पर्वत, पोखरा, रुकुम (पश्चिम) लगायतका ठाउँबाट आउने गरेको होटल व्यवसायी घर्तीले बताए ।
मानिस पातीहाल्नामा पुगेपछि तिलाचन दह नपुगी फर्कँदैनन् । पातीहाल्नाबाट एक घण्टाको उकालो चढेर तिलाचन दह पुग्ने गर्दछन् । जुन ठाउँ रुकुम (पूर्व), रोल्पा र बागलुङको सिमाना हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण उक्त ठाउँमा व्यवस्थापनको पाटो फितलो हँुदा पर्यटकले दुःख पाउने गुनासो गरेका छन् । एक÷दुई दिन उतै बस्ने गरी जान चाहेमा बास बस्ने ठाउँसम्म नभएको कास्कीको पोखराबाट हिउँ खेल्न पुग्नुभएकी नम्रता रानाभाटले गुनासो गरे । “पोखराबाट बिहान हिँडेपछि दिउँसो अबेरमात्र पातीहाल्नामा पुगिन्छ”, रानाभाटले भने, “त्यसपछि यहाँ घुम्नु कि फर्कने सुरसार गर्नु ।” टाढाबाट पुगेका पर्यटकलाई बसाइको व्यवस्थापन गर्न सके यहाँको आम्दानी पनि बढ्ने र पर्यटकले पनि आनन्द लिन सक्ने उनको भनाइ छ । उक्त ठाउँमा कुनै प्रकारको फोनले पनि काम गर्दैन । त्यसले गर्दा पनि समस्या खेप्नुपरेको पर्यटकले जनाएका छन् ।
अहिले रुकुमकोटबाट बागलुङ हुँदै पोखरा, काठमाडाँै जाने र काठमाडाँैबाट रुकुम आउने जोसुकै मानिस पातिहाल्नामा पुगेर ओर्लिने र त्यहाँको मनोरम वातावरणमा रमाउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि भूमे गाउँपालिकाले पातीहाल्नालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको छ । अहिले बागलुङसँग सीमा विवाद कायम रहेको बताउँदै गाउँपालिकाले पर्यटन क्षेत्र विकासका लागि साझा सहमतिको बाटो खोजिरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभएको छ । “बागलुङसँग सीमा विवाद कायमै भएकाले तत्कालै पातीहाल्नामा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्न सकेका छैनाँै”, अध्यक्ष बुढाले भने, “हामीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरी नीतिगत र प्राविधिक दुईवटा प्रतिवेदन तयार पार्दैछौँ ।” प्रतिवेदन तयार भएपछि सिमानालाई साझा ढङ्गले प्रयोग गर्ने गरी सीमा विवाद देखिएको बागलुङको निसीखोला गाउँपालिकासँगै अन्य गाउँपालिकासँग सहमतिको प्रयास गरिरहेको अध्यक्ष बुढाको भनाइ छ ।
कसैको सिङ कसैको भूगोल समेट्ने गरी साझा सहमतिको प्रतिवेदन तयार पारिरहेको गाउँपालिकाले रुकुम (पूर्व)कै पुथाउत्तरगङ्गा गाउँपालिका, रोल्पाको सुनछहरी र थवाङ गाउँपालिका, बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकासँग साझा सहमतिका लागि अनौपचारिक छलफल चलाइरहेको अध्यक्ष बुढाले बताए । पातीहाल्नाबाट उत्तरतिरको भागमा माथि चढेपछि त्यहाँबाट पुथा हिमाल, पश्चिम धवलागिरिको मनोरम दृश्यसँगै ढोरपाटन शिकार आरक्ष क्षेत्र पनि देख्न सकिन्छ । त्यसैले रोल्पा, बागलुङ र रुकुम (पूर्व)का दुई÷दुईवटा स्थानीय तहलाई सहमतिमा ल्याएर तयार पारिएका दुई प्रतिवेदन अन्तरपालिका विकास सम्मेलनमार्फत पारित गर्ने जनाइएको छ ।
उनका अनुसार यसरी छ स्थानीय तहको सहमति भयो भने सबैको सहकार्यमा पातीहाल्नामा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्ने र आन्तरिक पर्यटकका साथै बाह्य पर्यटक पनि भित्रिने छन् । यसबाट भएको आम्दानी छ स्थानीय तहको सहमतिमा बनेको कार्यविधिमा उल्लेख सहमतिअनुसार बाँडफाँट गरिने गाउँपालिकाले जनाएको छ । अहिले नीतिगत र प्राविधिक प्रतिवेदन तयारको काम अन्तिम चरणमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार