शुक्रबार , फागुण २१, २०७७

अब प्रधानमन्त्री ओलीले बालुवाटारबाट आफ्नो झिटीगुण्टा कस्न थाले हुन्छ

अब प्रधानमन्त्री ओलीले बालुवाटारबाट आफ्नो झिटीगुण्टा कस्न थाले हुन्छ

जनताको असीमित माया र अपार समर्थनलाई ३ बर्षसम्म पनि टिकाउन नसक्ने भाँडहरुले अब दिनदहाडै जनताका प्रतिनिधिहरुलाई घरघरमा सुरक्षाकर्मी पठाएर पक्राउ गर्दै आम नागरिक तर्साउने काम गर्दै हिँड्न थालेका छन् । सरकारका यी र यस्तै बिनाअर्थका कार्यहरुले वर्तमान ओली नेतृत्वको कामचलाउ सरकारको अब अन्तिम यात्रा शुरु भएको देखिदैछ ।

सधैं धाकधम्कीकै भरमा अर्कालाई होच्याउँदै यसैलाई आफ्नो बोक्रे बहादुरी सम्झने ओलीका अवसानका दिनहरु कसैले होईन उनी आफैले तय गरेका हुन । मान्छेलाई हैसियत भन्दा बढीको जिम्मेवारी दियो भने त्यसले जिम्मेवारी त पुरा गर्दैन नै स्वयं कामको समेत अवमूल्यन हुन्छ भन्ने कुराको उदाहरण खोज्न वर्तमानका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोडेर अन्त कतै जानै पर्दैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अहिले मुलुक अत्यन्तै कठिन मोडबाट गुज्रिरहेको छ । जनताको सार्वभौमसत्ता संसदको दिनदहाडै हत्या गरिएको छ । संविधानको गलत उपयोग गर्दै आफ्नो अभिष्ठ पुरा गर्न लालायित चैते कम्युनिष्टहरू आफै एकआपसमा लडाई गरिरहेका छन् । मुलुकमा नियुक्त हुने संवैधानिक निकायहरुको नियुक्ति प्रकृयामा छिर्के हानेर व्यापक राजनीतिकरण गरिएको छ । मुलुकको न्यायको सबैभन्दा विश्वासिलो संस्था सर्वोच्च अदालतमा पनि सरकारको कालो छाँया मडारिएको देखिदैछ ।

जनताको अभिमतका आधारमा राज्य सञ्चालन हुनुपर्ने लोकतान्त्रिक मुल्य र मान्यतामाथि नाङ्गो आक्रमण भैरहेको छ । जनताका जनप्रतिनिधिहरु यस विषयमा स्पष्ट छन् कि कुनै एक व्यक्तिको व्यक्तिगत लहड र सन्काहा प्रवृत्तिका कारण सिङ्गो मुलुक र वर्तमान राजनीतिक शासन व्यवस्थामाथि आँच आउनु हुँदैन, आउन दिनु हुदैन ।

यसैको प्रतिरक्षात्मक अभिब्यक्ति हो रामकुमारी झाँक्रीको अहिलेको सार्वजनिक बक्तव्य  । जसलाई आधार बनाएर वर्तमान कामचलाउ ओली सरकारले नेतृ झाँक्रीलाई पक्राउ गरेको छ । आफुले जे बोल्दा पनि हुने तर अरुले बोल्नै नहुने कुण्ठित मानसिकताका धनी प्रधानमन्त्री ओलीलाई रामकुमारी झाँक्रीको अभिब्यक्ति मन परेन ।

प्रचण्ड–माधव, झलनाथ र बामदेवको विरुद्धमा बिषबमन गरेको भए उनी खुशी हुन्थे । प्रधानमन्त्री र राष्ट्रपतिको पक्षमा बक्तब्यवाजी गर्दै हिँडेको भए उनी खुशी हुन्थे तर झाँक्रीको दुर्भाग्य ! उनले त्यसो गर्ने ईच्छा राखिनन् । जनताको सार्वभौम अधिकार संम्पन्न संसद मृत्युशैयामा छटपटाई रहँदा उनका बोलीहरु आफसेआफ प्रस्फुटित भए र भनिन्, बडामहारानी ।

केही बर्ष पहिला पञ्चायतको चरमउत्कर्षका बेलामा होस् या ज्ञानेन्द्र सरकारका पालामा होस् या भनौ अहिलेका राजावादी आन्दोलनका अभियानकर्ताहरुबाट होस्, महारानी र बडामहारानी भनेर बढो सम्मानका साथ जयजयकार गरेको पाईन्छ । विगत र वर्तमानको अवस्था अध्ययन गर्दा बडामहारानी भनेकै आरोपमा कसैलाई पनि गिरफ्तार गरिएको देखिएन  ।

तर अहिले आफैसँग खाईखेली आएका आफ्नै सहकर्मीलाई महारानी भनेकै भरमा आफ्नै सहकर्मी आज जेल जानु परेको छ । यसले वर्तमान ओली सरकारका पक्षमा रहेको अलिकति विश्वास र भरोसा पनि झरेको छ । जुनसुकै तानाशाहहरु पनि आफ्नो अन्तिम अवस्था आएको देखेपछि या आफ्नो बिरुद्धमा भीषण राजनीतिक ध्रुबीकरण हुने देखेपछि अनि आफु अब सदाका लागि राजनीतिक पर्दाबाट पछाडि हटनु पर्ने दिन आउने अवस्था कल्पना गर्न थालेपछि सबैलाई वर्ग दुश्मन देख्न थाल्छन् ।

हिजोको राजनीतिक परिदृष्य जे जस्तो भएता पनि आजको सरकारको रबैयाले वर्तमान ओली सरकार र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अब बालुवाटारको बसाई घटाई सकेको छनक देखिदैछ । बिज्ञहरु भन्न थालिसकेका छन् , ओलीले बिनाकारण नागरिकहरुको आत्मसम्मानमा ठेस लगाईरहेका छन् ।

यो उनको आफ्नै पराजयको अन्तिम प्रहशन हो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तै हर्कत गरिरहने हो र नागरिकहरुलाई अनाहकमा दुःख मात्रै दिईरहने हो भने अब प्रधानमन्त्री ओलीको बालुवाटार बसाई समाप्त भएको आभाष मिल्न थालेको छ । त्यसैले अब प्रधानमन्त्री ओलीले बालुवाटारबाट आफ्नो झिटीगुण्टा कस्न थाले हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय