
३० माघ, काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले हातमा साङ्लो बाँधेर शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लोले बाँकेर प्रदर्शन गरेका छन् । उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । स्रष्टाहरुले प्रदर्शनमा विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका छन् ।
सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई लगायतको उपस्थिती रहेको छ ।
स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् । बसन्तपुरमा स्रष्टाहरुले मन्तव्य राख्ने र कविता बाचन गर्ने कार्यक्रम रहेको छ । संसद विघटनको विरोधमा यस अगाडि पनि स्रष्टाहरुले विरोध जनाउदै आईरहेका छन् ।
प्रतिक्रिया