
३० माघ, काठमाडौं । महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित शुक्रबार नागरिक आन्दोलनले वसन्तपुर दरबार स्क्वाएरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेको हो ।
सरकारले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको र सो कदम प्रतिगामी भएको भन्दै कार्यक्रम गरिएको बताइएको छ । शवसहितकाे विरोध र्यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।
‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् । मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो ।
टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए । आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् ।
प्रतिक्रिया