
३० माघ, काठमाडौं । बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस नोट जारी गर्दै अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।
महिलाउपर हिंसा, बलात्कार र हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन विज्ञप्ति मार्फत माग गरिएको छ ।
यसैबीच, भट्टको बलात्कार पछि हत्या प्रकरणबारे बुझ्न नेपाली कांग्रेसले नेता खटाएको छ । बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको हो ।
कांग्रेसका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पार्टीले जिल्लामा पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्ने कांग्रेसले जनाएको छ ।
घटना भएको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नुले परिवारजनले पिडामाथि पीडा थप्ने काम भएको कांग्रेसले बताएको छ । साथै अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।
प्रतिक्रिया