
३० माघ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा श्यामप्रसाद बस्याल चयन भएका छन् । आज माघ ३० गते शुक्रबार सम्पन्न १४ औं साधारणसभापश्चात बसेको विकास बैंक सञ्चालक समितिको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं बार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समुहको तर्फबाट संचालकहरु श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका थिए ।
उक्त साधारणसभाले यसअघि नै प्रस्तावित १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साथै साधारणसभाले ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्तापुँजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्तापुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारणसभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गतेसम्मका विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विज्ञप्तिमार्फत जनाएका छन् ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया