
१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘दाहाल-नेपाल’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात दशक लामो संघर्ष र सहिदको बलिदानले निर्माण भएको संविधान लगायतका उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सात दशक लामो संघर्ष र सहिदको बलिदानबाट प्राप्त भएको गणतन्त्र संविधान जस्ता उपलब्धी गुम्ने खतरा रहेको बताएका हुन् ।
‘ओलीको प्रतिगमनले गर्दा जनताको बलिदानी र सहिदको रगतले प्राप्त गरेको संविधान र गणतन्त्र गुम्ने खतरा छ’ कार्यक्रममा दाहालले भने, ‘यो उपलब्धी रक्षा गर्न, दक्षिण पन्थी आक्रमण रोक्न फेरि एकपटक संघर्ष गर्नुपर्नेछ ।’
कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीका कारण प्रतिनिधि सभा विघटन गरेर दश वर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलनबाट प्राप्त भएका उपलब्धी गुम्ने खतरा बढेको प्रचण्डको भनाई छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनले प्राप्त गरेको गणतन्त्र र संविधानविरुद्ध भइरहेका गतिविधि चिर्न फेरि एकपटक संघर्ष गर्नुपर्ने पनि दाहालले बताए ।
भाषणका क्रममा दाहालले सशस्त्र द्वन्द्व र जनआन्दोलनमा घाइते भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ता भएकाहरुको छानबिन गर्ने काम टुंगोमा पुर्याउनुपर्ने बताएका थिए ।
तत्कालिन विद्रोही नेकपा माओवादीका अध्यक्ष समेत रहेका दाहालले सशस्त्र द्वन्द्व थालेको दिनका रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भनेपनि कार्यक्रमको व्यानरमा भने शहिद स्मृति तथा सम्मान कार्यक्रम लेखिएको थियो ।
प्रतिक्रिया