
१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको अगुवाईमा धुलिखेलमा भएको युवा नेताहरुको बैठकले कांग्रेस नेतृत्व तहमा तरङ्ग पैदा गरिदिएको छ । देशमा उत्पन्न राजनीतिक घटनाक्रम र कांग्रेसको भावी रणनीति तय गर्ने बिषयमा छलफल गर्न कांग्रेसका प्रभावशाली युवा नेताहरु धुलिखेल पुगेका थिए । साे बैठकले नेपाली कांग्रेसको राजनीतिमा छुट्टै परिणाम निकाल्न सक्ने अनुमान गरिएको छ ।
प्रतिनिधिसभाको विघटन र त्यसपछि उत्पन्न परिस्थितिका कारण अब नेपाली कांग्रेसको भावी रणनीति के हुन सक्छ ? भन्ने बिषयमा छलफल गर्ने भनिएको साे बैठकमा डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा आफ्नो सभापतिको उम्मेदवारीका बिषयमा पनि चर्चा गरिएको थियो ।
साे वैठकमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासहित केन्द्रीय युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ्ग, बद्री पाण्डे, दीपक गिरी, गुरुराज घिमिरे र जीवन परियारसहितको उपस्थिति रहेको थियो । डा. कोइराला आगामी चौधौं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बन्ने तयारीमा छन । नेता डा. कोइरालाले आफ्नो पक्ष दर्बिलो बनाउँदै सिङ्गो नेपाली कांग्रेसलाई नै अझ सशक्त र क्रियाशिल बनाउने रणनीति तयार गर्न समेत धुलिखेल बैठक आयोजना गरिएको बुझिएको छ ।
२४ घण्टासम्म निरन्तर चलेको भनिएको उक्त बैठकमा केन्द्रीयस्तरका प्रभावशाली मानिएका युवा नेताहरुले कांग्रेसभित्रको आन्तरिक रणनीतिमा देखिएका बेमेलहरुलाई न्युनीकरण गर्दै एकै ठाउँमा उभिएर अघि बढने सहमति भएको बुझिएको छ । भेलामा उपस्थित एक नेताले बताए अनुसार कांग्रेसको आन्तरिक राजनीति अहिले जे जस्तो छ, हामी एकै ठाउँमा उभिएर अघि बढने सहमति भएको छ ।
नेपाली कांग्रेसमा सभापतिका आकांक्षीहरुलाई समेत मिलाएर लैजान भेलामा उपस्थित युवा नेताहरुले एकै स्वरमा डा. शेखर कोइरालासँग अनुरोध गरेका थिए । कांग्रेसमा डा. शेखरसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी. र विमलेन्द्र निधि पनि सभापतिको आकांक्षी रहेकोले सबै नेताहरुलाई मिलाएर लैजान डा. कोइरालालाई नै जिम्मा दिएको भेलामा उपस्थित एक केन्द्रीय सदस्यले बताए ।
वर्तमान कांग्रेस नेतृत्व संवादबिहिन अवस्थामा रहेको र आम कार्यकर्ताहरुलाई न्याय गर्न नसकेको, पद र पैसाका लागि मात्रै मरिमेटने नेतृत्वका कारण र जनताका समस्यामा उदासीन रहेका कारण नेपाली कांग्रेसको वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष समेत भेलाले निकालेको एक नेताले बताएका छन् । नेतृत्व परिवर्तनसँगै कांग्रेसले आफ्नो नीति र कार्यक्रम समेत परिमार्जन गर्दै अघि बढनु पर्ने कुरामा समेत बैठकमा एकमत रहेको बुझिएको छ ।
कांग्रेस भित्रका प्रभावशाली युवा नेताहरु एकै ठाउँमा उभिएपछि अबको कांग्रेसमा बेग्लै रक्तसञ्चार हुने र यसले डा. शेखरलाई थप बलियो बनाउने अनुमान गरिएको छ । कांग्रेसले राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध, सांगठनिक संरचनाका बिषयमा पनि अब स्पष्ट धारणा बनाएर जनतामा जाने कुरामा समेत बैठकमा एकमत रहेको र यसले नेपाली कांग्रेसलाई जनताको माया र समर्थन प्राप्त हुने अनुमान गरिएको नेताहरुले बताएका छन् ।
भेलामा डा.शेखर कोइरालाले भने, म ब्यक्तिगत रुपमा नागरिक समाजसँग र अन्तर्राष्ट्रिय रुपमा पनि संवाद गरिरहेको छु । यद्दपि कोइरालाको निजी सचिवालयले धुलिखेलमा नेताहरुको बैठक भएको भएतापनि के के बिषयमा छलफल भयो भयो भनेर स्पष्ट बताएको छैन् ।
प्रतिक्रिया