
२ फागुन, पोखरा । पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ ९टेवान०को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रर्वद्धनमा सङ्घ आवद्ध सदस्यलाई प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
तालीमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका –६ का वडाध्यक्ष जगत पहारीले पर्यटन क्षेत्रमा व्यवसायी महिलाको योगदानको महत्वपूर्ण रहेको उल्लेख गरेका थिए । उनले विभिन्न जिम्मेवारी तथा भूमिकालाई व्यवस्थापन गर्ने कला महिलामा रहेको बताउँदै डिजिटल मार्केटिङ सम्बन्धी तालीमले थप ज्ञान हासिल गराउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले समयको माग अनुसार प्रविधिको विकासमा ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले व्यवसायीले पनि यस सोसल साइटका माध्यमबाट व्यवसायको प्रर्वद्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले पर्यटन फराकिलो क्षेत्र भएकाले यसमा आवद्ध व्यवसायीमा प्रविधिको ज्ञान हुन जरुरी रहेको बताएका छन् । उनको समयअनुसारको हरेक क्षेत्रका अब्बल राख्दै आफ्नो व्यवसायलाई प्रर्वद्धन गर्नुपर्ने भनाइ थियो । सङ्घका संस्थापक अध्यक्ष लक्की कार्कीले ज्ञान र सीप हुने हो भने महिला हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल हुने धारणा राखेका थिए ।
कार्यक्रमका संयोजक अनिता खड्काले संस्थाका गतिविधि र तालीमको उद्देश्यमाथि प्रकाश पारेकी थिईन् । खड्काका अनुसार कार्यक्रममा ७० महिलाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया