
३ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मध्य चैतदेखि राति साढे १२ बजेपछि उडान नहुने भएको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडानको संख्यामा अत्यधिक गिरावट आएपछि अब आउने चैतदेखि राति ३ बजेसम्म खुला राख्दै आएको सेवालाई अढाई घण्टा घटाउने भएको छ ।
अहिले अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यरात ३ बजेसम्म २१ घण्टा सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान संख्या नबढेकाले विमानस्थल व्यवस्थापनले चैत १५ देखि विमानस्थल राति साढे १२ बजेपछि बन्द गर्ने निर्णय गरेको हो । यससँगै मध्य राति काठमाडौंबाट दोहा, दुबई र जापानको नारिता उडान गर्ने क्रमशः कतार एयर, हिमालय एयरलाइन्स, एयर अरेबिया र नेपाल वायुसेवा निगमले आफ्ना रात्रिकालीन उडानको समय सार्नुपर्नेछ ।
कोरोना महामारीअघि दैनिक दुईतर्फी ८० हाराहारी उडान हुँदै आएकामा अहिले दैनिक ३० हाराहारी मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । नेपालसहित १५ मुलुकका ३० वटा वायुसेवाले विभिन्न २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यका लागि उडान अनुमति लिएका छन् । तर १४ वटा वायुसेवाले नियमित उडान थालिनसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
थाइल्यान्डको थाई एयर, थाई लायन, हङकङको ड्रागन एयर, बंगलादेशको विमान बंगलादेश, मलेसियाको मालिन्दो र मलेसियन एयरले यात्रु अभावकै कारण नियमित उडान थालिसकेका छैनन् । भुटानका ड्र्युक एयर र भुटान एयरलाइन्स, चीनका एयर चाइना, चाइना इस्टर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भारतका इन्डिगो र भिस्ताराले पनि नियमित उडान सञ्चालन गरेका छैनन् ।
प्रतिक्रिया