
३ फागुन,डोटी । डोटीको केआइसिंह गाउँपालिका वाइलमा पहिलो पटक बस सेवा पुगेको छ । गाउँपालिका केन्द्र वाइलमा पहिलो पटक चारवटा यात्रुबाहक बस पुग्दा स्थानीयवासीले खुशी साटासाट गरी रमाइलो मनाएका छन् ।
जिल्ला सदरमुकाम सिलगढीबाट कम्तीमा पनि २२ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको उक्त ठाउँमा अहिलेसम्म पनि ठूलो गाडी पुगेको थिएन । सुदूरपश्चिम बस व्यवसायी समिति तथा शेलेश्वरी यातायात प्रालीले पहिलो पटक सार्वजनिक बस पु¥याएपछि स्थानीयवासीले चालकलाई खाँदा र अबीर माला लगाई बाजागाजासहित स्वागत गरेका थिए ।
गाउँपालिका केन्द्रसम्म बस पुगेपछि अब यात्रा गर्नका लागि सहज हुने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ । यसभन्दा पहिले उक्त क्षेत्रमा साना बोलेरो जीप मात्रै सञ्चालन हुँदै आएको थियो । बस पुगेसँगै स्थानीयवासीले आपसमा नाचगान गरेर खुशीयाली मनाएका छन् ।
पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको राजपुर बजारदेखि केआइसिंह गाउँपालिकाको बगरसम्म सडक कालोपत्र भएसँगै नागरिकको सहजताका लागि अहिले पालिकाको केन्द्र वायलसम्म बस सञ्चालन गरिएको शैलेश्वरीयातायात प्रालीका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताएका छन् ।
पहिलो पटक गाउँमा बस लिएर आएका शैलेश्वरी यातायात प्रालीका चालकलाई खुशी लागेपछि आफूहरूले गाडीका चालकलाई खाँदा र अबीर लगाई स्वागत गर्दै नाचगान गरेको केआइसिंह गाउँपालिकाका स्थानीयवासीले बताएका छन् । उनीहरुले अब यहाँबाट नियमित बस सञ्चालन गर्न मागसमेत गरेका छन् । नागरिकले विगतको समयमा सडक सुविधा भए पनि खासै गाडी नचल्ने गरेका कारण सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर र पिपल्ला बजारसम्म पुग्नको लागि पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको थियो । अहिले यात्रुबाहक बस नै पुगेपछि उनीहरुले सधैँ बस सञ्चालन हुने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
केआइसिंह गाउँपालिकाबाट नियमित बस सञ्चालनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताएका छन् । उनले भने, “पहिलो पटक हाम्रो गाउँपालिकामा बससेवा पुगेको छ, यसको निरन्तरताका लागि गाउँपालिकाबाट पहल गर्ने छौँ ।” नियमित बस सेवा सञ्चालनका लागि गाउँपालिका केन्द्र वाइलमा टिकट काउण्टरको व्यवस्थाका लागि प्रयास भइरहेको शैलेश्वरी यातायात प्रालीका अध्यक्ष गणेश मलासीले बताएका छन् ।
प्रतिक्रिया