क्लियरिङ हाउसको सहयोगमा प्राइम लाईफ बन्याे डीजीटल भुक्तानी गर्ने पहिलो बीमा कम्पनी

७ फागुन, काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) प्रयोग गरी यस भित्र रहेका NCHL-IPS तथा connectIPS प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्योरेन्स कम्पनी भएको जनाइएको छ । हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।
यस व्यवस्थाको सुरुवातसँगै इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुने विश्वास गरिएको छ ।
प्राइम लाईफ सँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत connectIPS e-Payment बाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने NPI प्रणालीमा आबद्ध भैसकेका छन् । NPI नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेको एनसीएचएलले जनाएको छ ।
प्रतिक्रिया