
७ फागुन, नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक चुनावमय भइसकेको दाबी गर्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् । नुवाकोटमा आयोजित एक कार्यक्रममा आज बोल्दै सभापति देउवाले प्रचण्ड–माधव समूहलाई समेत चुनाव लागिसक्यो, हामी चाहिं हुँदैन भन्दै बस्ने ? चुनावमा जानकै लागि उनीहरुले –प्रचण्ड–माधव ) समूहले निर्वाचन आयोगमा गई सूर्य चिह्न मागिसकेका छन् भन्दै उनले अब कांग्रेसले तयारी गर्न ढिलाई गर्न नहुने बताए ।
सर्वाेच्च अदालतले जे निर्णय गर्ला त्यसलाई मानौंला, तर चुनाव भयो भने तयारी नगरी हुन्छ ? भन्दै सभापति देउवाले ढिलोचाँडो चुनाव हुने भएकाले काँग्रेसले तयारी तीब्र बनाउनुपर्ने बताए । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरिदियो भने हामी त्यसका लागि पनि तयार छौं, तर अहिलेलाई चुनाव हुन्छ भन्ने ठानेर तयारी थालौं – उनले भने ।
प्रतिनिधिसभा विघटन सदर भयो भने संविधान बमोजिम ६ महिना भित्र चुनाव गराउनैपर्ने भएकाले प्रधानमन्त्री केपी ओली भागेर जाने स्थिति नरहेको उनले उल्लेख गरे । समयमा चुनाव गराएनन् भने ओलीलाई पनि आन्दोलन गरेरै फालौंला भन्दै सभापति देउवाले अहिलेलाई चुनाव गर्छन् , गराउँछन् भन्ने विश्वास गरौं न – देउवाले भने ।
प्रतिक्रिया