
८ फागुन, काठमाडौं । नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने ओली समुहले बताएको छ । आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।
सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको छ । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको छ ।
कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ । आमसभा अघि विभिन्न ६ स्थानबाट र्याली निस्कने छन् । विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्याली निसक्नेछन् । र्याली १२ बजेसम्म सभास्थलमा पुग्नेछन् । सवा १२ बजेबाट कार्यक्रम सुरू हुने छ ।
प्रतिक्रिया