
९ फागुन, फिदिम । राजा र जनता मिलेर सात सालको क्रान्तिबाट प्राप्त प्रजातन्त्रको आदर्शलाई निरन्तर राख्नु पर्ने वक्ताहरुले जनाएका छन् ।‘संविधान, विधीको शासन र व्यवस्थालाई लिएर हाल एक किसीमको अन्योल छाएको छ ।
त्यसैले प्रजातन्त्रको मूलभूत आदर्शलाई बचाई राख्नु महत्वपूर्ण भएको छ । राजा र जनताले संयुक्त रुपमा प्राप्त गरेको प्रजातन्त्रको प्रतिफल जारी राख्नु टड्कारो भएको छ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले प्रजातन्त्र दिवसको अवसरमा राप्रपा पाँचथर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
नेकपा मालेका नेता लय बाँस्कोटाले भने, ‘प्रजातन्त्रको आधार गुम्न दिन हुन्न । विभिन्न कालखण्डमा जनताले बलिदानी दिएर प्राप्त गरेको जनताको शासन खेर जान दिन हुन्न । राष्ट्रिय एकताको जगमा प्रजातान्त्रिक पद्धति, मूल्य र मान्यतालाई बचाइ राख्नु जरुरी भएको छ । शान्ति र समृद्धिको आधार नै प्रजातन्त्र हो ।’
समारोहका अध्यक्ष, राप्रपा पाँचथर जिल्ला अध्यक्ष राजकुमार जोशीले भने, ‘राष्ट्रिय शक्तिको एकतामा नै राष्ट्रियता सबल हुने हो । राष्ट्र र राष्ट्रियताको निम्ति राजा र जनता फेरी पनि एक ठाउँ उभिन आवश्यक भएको छ । समयको माग नै यही हो ।’
राप्रपाका जिल्ला उपाध्यक्ष कमल चेम्जोङले भने, ‘राष्ट्रिय पहिचान र राष्ट्रिय संस्थाहरुको बलमा दिगो प्रजातन्त्र स्थापना गर्नु पर्दछ । त्यसको लागि निष्पक्ष अभिभावकको रुपमा दलभन्दा माथि रहने राजसंस्था र सबै धर्म, आस्था र परम्पराको बराबर सम्मान हुने सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम राख्नु परेको हो ।’
प्रतिक्रिया