समृद्धिको यात्रामा जुटेका ब्युहूँकोटवासी
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १६:३९:२६
१० फागुन,बाग्लुङ । स्थानीय जागरुकताको अभावमा प्रकृति र संस्कृतिमा सम्पन्न भएर पनि देशका विभिन्न रमणीय स्थान ओझेलमा परिरहेका अवस्थामा बाग्लुङको ब्युहूँकोटका स्थानीयवासी भने यहाँका प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिको यात्रामा जुटेका छन् ।
पर्यटकीय नगरी पोखराबाट ७२ किमी दूरी पार गरी पुगिने बाग्लुङबाट करिब २२ किमी सडक पार गरेपछि बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी, ब्युहूँकोटमा पुग्न सकिन्छ । ब्युहूँकोटबाट ६० किमी दूरी पार गरेपछि नेपालकै महत्वपूर्ण ढोरपाटन शिकार आरक्ष पुगिने भएकाले पनि यस स्थानको गरिमा र महत्व अझै बढाएको छ ।
लाखौँ रुपैयाँ खर्चेर शिकारका लागि विशेषतः विदेशी पर्यटक बर्सेनि ढोरपाटन शिकार आरक्ष आउँछन् । ढोरपाटन आउनेमध्ये कतिपय काठमाडौँबाट सिधै हेलिकप्टरमार्फत आउँछन् भने कतिपय पोखरा हुँदै यही ब्युहूँकोट भएर सवारी साधनमार्फत पुग्दछन् । पछिल्ला वर्षमा देशका विभिन्न भागबाट शिकारको प्रयोजनका लागि नभई सामान्य घुमफिरका लागि ढोरपाटन पुग्नेको सङ्ख्या बढिरहेको छ ।
प्राकृतिक र सांस्कृतिकरूपमा पनि सम्पन्न ब्युहूँकोटमा यहाँका प्रकृति र संस्कृतिलाई जोड्ने गरी घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको शिवधुरी सामुदायिक घरवासका अध्यक्ष प्रेमबहादुर श्रीसले बताएका छन् । घरवास पर्यटनमा पूर्वाधार विकासका लागि राज्यको सहयोग अपरिहार्य भएको बताउँदै अध्यक्ष श्रीसले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औँल्याएका छन् । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै उनले ब्युहूँकोटजस्ता सुन्दर गाउँ प्रर्वद्धनको पर्खाइमा रहेको बताएका छन् ।
ब्युहूँकोटमा मगरलगायत सबै वर्ग र समुदाय मिलेर बसेका छन् । यहाँ आउने पर्यटकले मगर संस्कृतिका विविध पक्षका साथै मारुनी र सोरठीजस्ता नृत्य प्रत्यक्ष अवलोकन गर्न पाउने अध्यक्ष श्रीसले जानकारी दिएका छन् । गाउँमा रहेका विभिन्न पञ्चेबाजाको समूह, ब्राह्मण समुदायको भजन चुड्काले पनि यहाँको संस्कृतिलाई थप मद्दत पुर्याएको घरवास सञ्चालक समितिका उपाध्यक्ष ध्रुवबहादुर कँडेलले बताए ।
स्थानीयवासीले होमस्टेमा आउने पर्यटकलाई स्थानीयरूपमा नै उत्पादित विभिन्न तरकारीका साथै भाँगोको अचार, सिलामे चामलको भात, बाकोको सिन्की आदिको स्वाद चखाउने गरेका छन् । पछिल्ला दिनमा पर्यटकलाई लक्षित गरी किबीलगायतका फलफूल उत्पादन गर्ने क्रम पनि बढेको छ । घरवासको प्रभावकारिताका लागि गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिटोफले अघिल्लो वर्ष बाग्लुङमा गरिएको घरवास तालीममा यहाँका सञ्चालक सहभागी भएको गाउँ पर्यटन प्रर्वद्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिएका छन् ।
शिवधुरी धार्मिक एवं ऐतिहासकस्थल पनि हो । सडक पूर्वाधार नबन्दै बाग्लुङबाट बुर्तिबाङ, ढोरपाटन हिँड्ने मुख्य पैदल मार्गसमेत भएकोले यसको प्राचीनकालदेखि नै महत्व रहँदै आएको स्थानीयवासी बताउँछन् । ब्युहूँकोट आसपासमा रहेका त्रिपुरेश्वर महादेव मन्दिर, शिवपुरी धाम, घोडा बाँधे आदि यहाँका महत्वपूर्ण आकर्षण रहेको काठेखोला गाउँ कार्यपालिकाका सदस्य एवं स्थानीय समाजसेवी हेमलाल विकले बताएका छन् । दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँस्थित शिवपुरी धाममा टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन् । नजिकै रहेका यी धार्मिक एवं ऐतिहासिकस्थलका कारण यसलाई धार्मिक पर्यटनको पनि आकर्षक गन्तव्यका रूपमा विकास गरिने लक्ष्य राखिएको अध्यक्ष श्रीसले बताएका छन् ।
घरवास शुरु गरे पनि विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीका कारण यहाँको घरवास पनि प्रभावित भएको होमस्टेका सचिव प्रेमबहादुर पुनले जानकारी दिएका छन् । प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिका लागि यहाँका स्थानीयवासीले देखाएको सक्रियता प्रशंसायोग्य भएको गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष अधिकारी बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार