
१० फागुन ,त्रिशूली । भूमिसम्बन्धी समस्या समाधान आयोगको नुवाकोटमा कार्यालय स्थापनाभएसगैँ काम अघि बढाइएको छ । केही दिनअघि आयोगको नुवाकोटको संयोजकमा विन्दा ढुङ्गाना, सदस्यमा बलराम आचार्य र नारायण घिमिरे चयन भएर जिम्मेवारी पाएसगैँ जिल्ला समन्वय समितिको भवनमा आयोगको कार्यालय स्थापना र जिल्लाका स्थानीतहसँग सम्झौता थालिएको छ ।
‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी’लाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि भूमिसम्बन्धी ऐनलगायतका प्रचलित कानून अनुसार काम गर्न सम्झौता शुरु गरिएको आयोगको नुवाकोटका संयोजक ढुङ्गानाले जानकारी दिएका छन् ।
उनका अनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बासोबास गर्दै आएकालाई व्यवस्थित गर्न आयोगको स्थापना भए पनि स्थानीय तहमा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन एकाइ’ गठन गरेर निवेदन सङ्कलन गर्ने, त्यस माथि कारवाहीको लागि कार्यपालिकाको बैठकमार्फत सिफारिस गरेर पठाउनेसम्मको अधिकार स्थानीय तहलाई दिइएको छ ।
आफ्नो पालिकाभित्रका भूमिहीन र सरकारी जग्गा उपभोग गर्दै आएका अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन तथा व्यवस्थित गर्न नुवाकोटको स्थानीय तहका प्रमुखले आयोगको नुवाकोट कार्यालय समक्ष सम्झौता गर्दैै लक्ष्य र उद्देश्य अनुसार जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् ।
तोकिएको समयभित्रै काम सम्पन्न गर्न आफूहरु सक्रिय भएर लाग्ने भएकाले कुनै शङ्का नलिई काम अघि बढाउन स्थानीय तहलाई आयोग नुवाकोट कार्यालयले अनुरोध गरेको छ । पहिलोमा भूमिहीन दलित, दोस्रोमा भूमिहीन सुकुम्वासी र तेस्रो प्रथामिकतामा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य भएकाले सोही अनुसार काम अघि बढाउन स्थानीय तहलाई सुझाब दिइएको छ ।
प्रतिक्रिया