इरानद्वारा परमाणु केन्द्रमा राष्ट्रसंघीय आकस्मिक निरीक्षणमा रोक

१० फागुन, एजेन्सी । इरानले आफ्ना परमाणु केन्द्रहरुको संयुक्त राष्ट्रसंघलाई आकस्मिक अनुगमन गर्न नदिने भएको छ । सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले यो कदम चालेको हो।
इरानले मङ्गलबारबाट निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्ने तयारी गरेपछि यस्तो खुलासा भएको हो । नीति अनुसार राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन भने इरान सहमत भएको संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले बताएका छन्।
हतारमा गरिएको यो सम्झौताले इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी ‘आईएईए’ का निरीक्षणकर्ताहरूलाई अब अनुगमनको कम मात्र पहुँच हुनेछ। आईएईएसँगको सम्झौतापछि अब तेहरान र वाशिङ्गटनलाई सम्झौतामा पुग्न थप समय प्राप्त भएको छ। ट्रम्प प्रशासनले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौताअनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो।
इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले भने इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन्। इरानको परमाणु कार्यक्रम करिब २० वर्षदेखि अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ।
इरानले आफ्नो परमाणु कार्यक्रमलाई शान्तिपूर्ण बताउँदै आएको छ। तर अमेरिका र अन्य मुलुकहरुले भने उसले गोप्य रूपमा आणविक हतियार बनाउन खोजीरहेको भन्दै शङ्का व्यक्त गर्दै आएको बिबिसीले जनाएको छ ।
प्रतिक्रिया