
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको असंवैधानिक कदम सच्चिएपछि निर्वाचनमा जान कांग्रेसले सोच्नु पर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियामा कार्यक्रमलाई संवोधन गर्दै डा. रिजालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर मात्रै कांग्रेस चुनावमा जानुपर्ने धारणा राखेका छन् । तर संविधान नै भत्काउने र लोकतन्त्र नै धरापमा पार्ने गरी कांग्रेस चुनावमा जान नहुने उनले बताए ।
पुनस्थापना भएपछि आगामी मंसिर महिनामा चाहिं चुनाव गर्ने सहमति जनाएर जान सकिने भन्दै डा. रिजालले तर ओली सरकारले निष्पक्ष निर्वाचन गर्नेमा आशंका व्यक्त गरे । ओली सरकार विस्थापित भएपछि मात्रै हामीले निर्वाचनबारे सोच्नुपर्छ – उनले भने सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि सबैबीच सहमति बनाएर मंसिरमा चुनाव गर्न सकिन्छ ।
प्रतिनिधिसभा विघटनका सन्दर्भमा पार्टीका शीर्ष नेताहरुबीच फरक मत देखापरेको भन्दै उनले नेपाली कांग्रेसले आधिकारिक रुपमा गरेको निर्णय नै सबैले मान्नुपर्ने बताए । उनले भने–पार्टीले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरेको कुरा नै आधिकारिक हो ।
प्रतिक्रिया