
१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध सर्वाेच्च अदालतले सुनुवाई पूरा गरी अन्तिम फैसला दिने तयारी गरिरहेकै बेला आज अकस्मात नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अदालत परिसरमा देखापरे । त्यो पनि औपचारिक रुपमै ।
प्रधानसेनापतिको अदालत प्रवेशले धेरैलाई अचम्मित तुल्यायो । विघटन सम्बन्धी रिटको फैसला आएपछि हुने सम्भावित सुरक्षा चुनौतीबारे छलफल गर्न प्रधानन्यायाधीशलगायत सर्वाेच्चका न्यायाधीशहरुले बोलाएको हल्ला निकैबेर चल्यो ।
न्यायधीशहरु फैसला भोलि वा पर्सि कहिले दिने भन्ने विषयमा छलफल गरिरहँदा प्रधानसेनापतिको प्रवेश अदालत परिसरमा भएको थियो ।प्रधानसेनापति थापा परिसर भित्र आए लगत्तै सिधै प्रधानन्यायाधीशको कार्यकक्षमा गएको स्रोतले बताएको छ । भित्र प्रधानन्यायाधीशसँग संवैधानिक इजलाशका श्रीमानहरू पनि हुनुहुन्थ्यो, के विषयमा कुरा भए त्यो थाहा भएन – सर्वाेच्चका एक कर्मचारीले यस्तो टिप्पणी गरेका थिए ।
तर एक जानकार स्रोतले भने सर्वाेच्च अदालतको नयाँ बन्न लागेको भवनबारे छलफल गर्न प्रधानसेनापति थापा त्यहाँ गएको बतायो । सर्वाेच्चले नयाँ बनाउन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले छलफल गर्न बोलाइएको उनले दाबी गरेका छन् ।
प्रतिक्रिया