
११ फागुन,सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् ।
आइतबार दैलेखबाट पैदल हिँडेर सोमबार बेलुकी सुर्खेत पुगेका उनीहरु राति मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बसेको हुन् । करिब ८०÷९० को सङ्ख्यामा रहेका उनीहरु खुला चौरमा धर्ना बसेकालाई प्रहरीले सुरक्षा दिएको थियो ।
दुल्लु नगरपालिका–१ दैलेखका हिक्मत बादीले भारी बोक्दै र माछा मार्दै चलाइएको जीविका गाह्रो हुँदै गएको र जमीन पनि नभएकाले तिनको व्यवस्थाका लागि सरकारसँग माग गर्न आएको बताएका छन् । उनले भने, “हामीलाई नदी किनारामा बालुवा निकाल्न बन्देज लगाइयो । जीवन चलाउन कठिन भयो । कोरोना महामारीले झन् ठूलो सङ्कट बनाउँदा अन्ततः शरीर नै बेच्नुपर्ने बाध्यता आइलागेका कारण हामीलाई गाँस, बास मिलाइदेओस् भनी प्रदेश सरकारको शरणमा आएका छौँ ।” माग पूरा नभएसम्म जिल्ला नफर्कने बादीले बताए ।
उनीहरुले प्रदेश सरकारसँग सुरक्षित आवास र खेतीपाती गर्ने जमीनको माग गर्ने बताएका छन् । उनीहरुका साथमा साना बालबालिकासँगै वृद्धवृद्धासमेत रहेका छन् । दैलेखमा ११२ घरधुरीमा ४०२ जनसङ्ख्या बादी समुदायको रहेको बताइएको छ ।
प्रतिक्रिया