
११ फागुन, काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विरुद्धको युद्ध आफूहरुले जित्नुपर्ने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित जनयुद्धको हस्ताक्षर पुस्तकको विमोचन कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले भइरहेको संघर्षलाई युद्ध कै संज्ञा दिँदै त्यसलाई जित्नुपर्ने बताएका हुन्।
प्रचण्डले पार्टी निकै ठूलो मेहनत गरेर एक गरेको भन्दै त्यसलाई फुटाउन ठूलो षड्यन्त्र भइरहेको दाबी गरे। उनले प्रधानमन्त्री केपी ओलीले देशलाई नै विघटनको बाटोमा पुर्याएको समेत बताए।
कार्यक्रममा उनले जनयुद्धमा संवेगको मात्रा धेरै माथि भएको भन्दै पुस्तकमा जनयुद्धको बेलाको आवेग उल्लेख भएको बताए। सामन्तवादको विरुद्ध बेलाबेलामा सशस्त्र संघर्ष भएको भन्दै जनयुद्ध अघि पनि हतियार उठाइएको उनको तर्क थियो।
शाहले गरेको त्याग नेपाल निर्माण भएको र त्यसपछिको ठूलो युद्ध नै जनयुद्ध भएको उनको दावी थियो। उनले शान्ति प्रक्रियामा आफूहरु सहमति गरेको आएको समेत स्मरण गराए। अझै जनयुद्ध केही समय भएको भए नेपालको अवस्था पेरुको जस्तो हुने सम्भावना भएको उनको भनाइ थियो।
प्रतिक्रिया