
११ फागुन,दमौली । ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा विपद् सम्बन्धी सूचना एकीकृत रुपमा आदानप्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको हो ।
नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली अन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ । सोही बमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले आजदेखि उक्त पोर्टलको शुभारम्भ गरेको जनाएको छ ।
यस पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने ब्यास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिएका छन् ।
उक्त पोर्टलमा देखिए अनुसार विगत दश वर्षमा ब्यास नगरपालिकामा १९ घटना र ८ व्यक्तिको मृत्यु भएको छ । सन् २०२०÷२०२१ फेुब्रअरीबीच सात घटना भएकामा पाँच व्यक्तिको मृत्यु भएको छ । पोर्टलमा खासगरी आगलागी, चट्याङ, पहिरो आदिका घटना धेरै भएको देखिएको नगरपालिकाले जनाएको छ ।
विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका सङ्घ संस्थाबाट तयार गरिएका सूचना तथा तथ्याङ्क रहेको हुँदा यसको सहयोगले नगरपालिकाको रणनीति योजना बनाउन सहज हुने ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् । नगरपालिकाले आवधिक रुपमा तथ्याङ्क प्रविष्ट गरी विपद् पोर्टलमा रहेको सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्ने नगरप्रमुख न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोर्टलमा शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, उद्योग, पर्यटन, सांस्कृतिक धरोहरलगायत नगरपालिकामा रहेका विभिन्न पूर्वाधारको सूचना सङ्कलन भइसकेको हुँदा भविष्यमा हुने कुनै पनि विपद्का घटनालाई प्रतिक्रिया गर्न सहयोग पुग्ने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले जानकारी दिएका छन् । यसमा रहेका सूचना तथा तथ्याङ्कलाई आधार लिई नगरपालिकाले आफ्नो तयारी गर्न सक्ने र भविष्यमा हुनसक्ने जोखिमलाई पहिचान गरी दीर्घकालीन योजना बनाउने सक्ने उनले बताए ।
विपद् पोर्टलको स्थानीयकरण युथ इनोभेसन ल्याबको प्राविधिक सहयोग र युएसएआइडिको आर्थिक सहयोगमा ब्यास नगरपालिकालगायत १३ अन्य पालिकामा काम भइरहेको छ । स्थानीयकरण कार्य अन्तर्गत ल्याबले प्राविधिक इन्जिनीयरलाई पाँच महिना ब्यास नगरपालिकामा खटाएको थियो ।
प्रतिक्रिया