
११ फागुन,काठमाडौं । साहित्यकार नरेश शाक्यको नयाँ काव्यकृति ‘सम्बोधि’ बजारमा आएको छ । प्रकृति, प्रेम, राजनीति, दर्शन आदि विषयका ४१९ वटा कविता सो कृतिमा समाविष्ट छन् । ती कविता कुनै तीन, कुनै चार र कुनै पाँच हरफका छन् । हाइकू, तान्का शैलीका छोटा यस्ता कवितामा ठूलो भाव र विचार कविले दिन खोजेका छन् ।
सम्बोधिमा समावेश भएका लघुकविता गोलढुङ्गाको पुरानो गुजेश्वरीको बसाइमा लेखिएका हुन् । उनी त्यहाँ बस्दा गम्भीर बिरामी भएर मोडेल अस्पतालमा उपचार गराएर फर्किएपछि लेखिएको काव्य हो । आकृतिप्रकृति प्रकाशक रहेको यस कृतिको भूमिकामा लेखक सहप्राध्यापक एवम् समालोचक डा हरिप्रसाद सिलवालले कृतिमा असमानताका असरल्ल अनुहारलाई कविताको कला र विचारको बाढीले बगाउँदै र पाइलापाइलामा फुत्किन खोजेका जिन्दगीका धागाहरूमा आशाका रेखाहरू कोरिएको जनाए ।
प्रस्तुत लघुकवितामा सशक्त सौन्दर्य चिन्तन झुल्केको छ । मानवलाई मानव भएर बाँच्न दिनुपर्छ अनि वर्गीय उत्पीडनको अन्त्य हुनुपर्छ भन्ने प्रगतिवादी विचारलाई कवि शाक्यले आफ्ना कवितामा आलोकित गरेको छ । समाजमा रहेका अँध्यारा र उज्याला पक्षहरूको चिरफार गरी जीवनका वास्तविक अनुभूतिलाई सङ्ग्रहमा प्रस्तुत गरिएको उनको टिप्पणी छ ।
प्रतिक्रिया