
११ फागुन,राँझा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लोकप्रियताबाट डराएर घरभित्रैका केही साथीहरूले जालझेल गरेको बताएका छन् । बाँकेको कोहलपुरमा आज आयोजित राष्ट्रिय युवा सङ्घ कोहलपुर नगरस्तरीय अगुवा कार्यकर्ता भेटघाटमा उनले यस्तो धारणा राखेका हुन् ।
उनले मुलुकलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेको पनि बताएका छन् । “प्रधानमन्त्रीले पार्टीलाई बलियो बनाएर, एकतालाई जोगाउँदै मुलुकको विकास र समृद्धिको अभियानलाई अगाडि बढाउन लाग्दा उनको लोकप्रियताबाट डराएर घरभित्रैका केही साथीहरूले जालझेल गरे”, मन्त्री भट्टले भने, “पार्टीलाई कमजोर पारी मुलुकको सिङ्गो कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न पार्दै देशलाई अस्थिरतातर्फ धकेल्ने काम भएपछि संसद् विघटन गरी नयाँ जनादेशमा जाने निर्णय भएको हो ।”
मन्त्री भट्टले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने र जनताको विकास र समृद्धिको चाहनामा कुठाराघात गर्ने तत्वको पर्दाफास गर्न युवाको ठूलो भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपानै आधिकारिक र वास्तविक नेकपा भएको दाबी गरे । बाँकेको वैजनाथ गाउँपालिकास्थित प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्नेक्रममा कोहलपुर पुगेका मन्त्री भट्टले प्रचण्ड–माधव समूहको आन्दोलनमा दिनप्रतिदिन जनसहभागित घट्दै गएको र नेता कार्यकर्ता आफ्नो पक्षमा आउनेक्रम बढ्दै गएको बताएका छन् ।
प्रतिक्रिया