
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्ड-नेपाल र उक्त समूहका नेताहरुको टेलिफोनमा कुराकानी भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि मंगलबार साँझ प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले लगायत नेता झलनाथ खनालले देउवालाई फोन गरी कुराकानी गरेका हुन्।
प्रधानमन्त्री केपी ओलीले पुष ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा नेकपाको प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको ठहर थियो। यसबारे मंगलबार सर्वोच्चले प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएपछि प्रचण्ड(नेपाल र खनालले फोन गरेर बधाइ साटासाट गरेका छन्।
चितवनमा रहेका प्रचण्डले पनि कांग्रेस सभापति देउवासँग आफूले टेलिफोन गरेर खुसी साटेको बताएका थिए। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरूसँग छलफल गरी सहमति र समझदारीबाटै अगाडि बढ्ने प्रचण्डको भनाइ छ।
प्रतिनिधि सभा पुनर्स्थापनापछि सभापति देउवाले विज्ञप्ति निकालेर उक्त फैसलाको स्वागत गरेका थिए। तर देउवाले प्रतिनिधि सभा पुनर्स्थापनापछिका अवस्थाबारे छलफल गर्न पार्टीको बैठक बोलाएका छैनन्। देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे देउवा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा सहभागी हुँदै छन् ।
देउवाका सहयोगी भानु देउवाका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी ओलीसँग भने सभापति देउवाको कुराकानी भएको छैन।
प्रतिक्रिया