बुधबार , बैसाख ८, २०७८

तर ऊ त कुकुर नै रहेछ !

तर ऊ त कुकुर नै रहेछ !

जिब्रो निकालेर आफ्ना सामु हरदम झुक्थ्यो
स्याल देखे झम्टने बाघ देखे लुक्थ्यो
आफ्नालाई छोडेर अरुलाइ भुक्थ्यो
हरदम मालिकको कोटेरी ढुक्थ्यो
जे होस ऊ कुकुर जस्तै थियो
तर ऊ त कुकुर नै रहेछ ।

पुच्छर हल्लाउँदै टाङ्मुनि घुसिरहन्थ्यो
ख्वामितले दिएको हड्डी चुसी रहन्थ्यो
जिते फुरुङ्ग हारे हिस्स पर्थ्यो
लोभी थियो, ङिच्च गर्थ्यो
जे होस ऊ कुकुर जस्तै थियो
तर ऊ त कुकुर नै रहेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 

आफू उन्नत अरु भुस्याहा भन्ठान्थ्यो
मालिकको गौचरण आफ्नै ठान्थ्यो
उसले भनेको खुरुखुरु मान्थ्यो
सिनोका चोक्टा नछोडि तान्थ्यो
जे होस ऊ कुकुर जस्तै थियो
तर ऊ त कुकुर नै रहेछ ।

मालिकको गुणदोष नहेरी ऊसँगै रमाउँथ्यो
मालिक सामु अर्को देखे तेसै बर्बराउँथ्यो
प्रशंसाले मालिक फुर्क्याएर हिँड्थ्यो
ठाउँ कुठाउँ तुर्क्याएर हिँड्थ्यो
जे होस ऊ कुकुर जस्तै थियो
तर ऊ त कुकुर नै रहेछ ।

उसको हिम्मत बढी शक्ति कम थियो
पाल्तु कुकुरझैं आवाजमा दम थियो
छुच्चो, निमुखा ख्याउटे तन थियो
मेरा मालिक अजम्बरी भन्थ्यो
जे होस् ऊ कुकुर जस्तै थियो
तर ऊ त कुकुर नै रहेछ ।

(जो जससँग सम्बन्धित छ उसैमा समर्पित)

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय