
१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले नेकपाका दुवै समूहले सत्ता समीकरणको प्रस्ताव गरे पनि तत्काल मौन बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेकपाका दुइटा समूहका गतिविधिलाई सुक्ष्म ढंगले हेर्ने रणनीति लिएको हाे ।
नेकपामा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल गरी दुइटा पक्ष देखिएका छन्। निर्वाचन आयोगले यी दुई पक्षमध्ये कुनलाई आधिकारिकता दिन्छ वा यी समूहले कुनले बेग्लै पार्टी गठन गर्छ त्यसअनुसार निर्णय गर्ने तयारीमा कांग्रेस छ। बरू फागुन २४ गते बस्ने प्रतिनिधि सभा बैठकसम्म नेकपाका दुई समूहका गतिविधिलाई सुक्ष्म ढंगले हेर्ने रणनीतिमा कांग्रेस छ।
सभापति देउवाले आजको बैठकमा नेकपाका दुवै समूहले सहकार्य गरेर जानुपर्ने भन्ने प्रस्तावका सन्दर्भमा धारणा राख्न पार्टीका नेताहरूलाई समय दिएका थिए। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर देशलाई ठूलो संकटमा जानबाट बचाएको भन्दै बैठकमा धारणा राख्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया अगाडि बढ्नुपर्ने बताएका छन्।
खासगरी आज बसेको बैठकबाट तत्काल नेकपाका दुवै समूहसँग सन्तुलित सम्बन्ध कायम गर्ने र संसदमा आफ्नो परिस्थिति हेरेर पार्टीको हितमा निर्णय लिने रणनीति कांग्रेसले बनाएको बुझिएको छ । त्यसैले पनि कांग्रेस तत्काल मौन रहने निष्कर्षमा पुगेको हो ।
प्रतिक्रिया