
फागुन २८ काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब १३ लाख कित्ता ‘एफपीओ’ बिक्री गर्ने भएको छ।यसअघि सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये बाँकी रहेको १२ लाख ९८ हजार २५९ कित्ता शेयर एफपीओ जारी गरेर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।
१० करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तको नेप्सेमा ३९ लाख २८ हजार कित्ता शेयर मात्रै सूचीकृत छ। यसअघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता सेयर जारी गरेकोमा थप करिब १३ लाख कित्ता शेयर एफपीओमार्फत बिक्री गर्न लागेको हो।
कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता शेयर रहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य ६६९ रुपैयाँदेखि १८९५ रुपैयाँसम्म पुगेको थियो ।
यस अघि एफपीओ जारी गरेका केही लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँमै पनि सेयर बिक्री गरेका थिए। एफपीओ जारी गर्दा प्रिमियमसहित जारी गर्न पाउने भए पनि कम्पनीले कति रुपैयाँमा शेयर बिक्री गर्ने भन्ने कुरा खुलाइसकेको छैन । कम्पनीले एफपीओ बिक्री गर्न मर्चेन्ट कम्पनीको खोजी सुरु गरिसकेको छ।
यस अघि एफपीओ जारी गरिसकेका अनुभवी मर्चेन्ट कम्पनीले आफ्नो कम्पनीको प्रोफाइल र एफपीओ जारी गरेवापत लिने शुल्कको विवरणसहित लघुवित्तको केन्द्रीय कार्यालय मण्डीखाटार,काठमाडौंमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।
प्रतिक्रिया