
२८ फागुन, काठमाडौं । राजनीतिमा नैतिकताको ठूलो अर्थ र महत्व हुन्छ भन्ने मान्यतालाई प्रधानमन्त्री केपी ओलीले लत्याएको भन्दै नेपाली काग्रेसका संस्थापन इतर पक्षका नेताहरुले तत्कालै विकल्प खोज्नुपर्ने निश्कर्ष निकालेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुको आज बिहान बसेको भेलाले अब देशले ओलीको विकल्प खोजेको भन्दै त्यसका लागि नेपाली कांग्रेसले नै पहल गर्नुपर्ने धारणा बनाएको सहभागी एक नेताले नेपालबहस डटकमसँग भने । पार्टी सभाति शेरबहादुर देउवाले आज अपरान्ह् ३ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेकाले त्यहाँ ठोस धारणा प्रस्तुत गर्न भेलाको आयोजना गरिएको ती नेताले बताए ।
महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा भएको सो भेलाले प्रधानमन्त्री ओलीको शैली र व्यवहार लोकतान्त्रिक चरित्र विपरित देखिएको भन्दै नैतिकता भन्ने शव्दकै खिल्ली उडाउने व्यवहार भएकाले अब उनलाई बिदा गर्नैपर्ने निश्कर्ष निकालिएको हो । यसका लागि प्रमुख प्रतिपक्षी दल भएका नाताले कांग्रेसको पहलकदमी अपरिहार्य छ – भेलाको निश्कर्ष हो ।
आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनस्थापना हुँदासमेत नकचरो तालले ओली प्रधानमन्त्रीको कुर्सीमा टाँस्सिनु भनेको लोकतन्त्रको उपहास हो भन्दै नेताहरुले अब भने राजनीतिमा नैतिकता र सहृदयता जगाउनकै लागि भएपनि ओलीलाई बिदाबारी गर्नैपर्ने धारणा राखेका थिए ।
ओलीको विकल्पका लागि सकेसम्म कांग्रेसले नै नेतृत्वको दाबी गर्नुपर्ने नभए अन्य विकल्पमा समेत तयार रहनसमेत नेतृत्वलाई सुझाइएको थियो । मिलेसम्म कांग्रेसले नै नेतृत्व गर्ने नभए जनता समाजवादीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर भएपनि ओलीतन्त्रलाई बिदा गर्नैपर्ने उनीहरुको धारणा थियो । त्यही धारणाका साथ देउवा निवासमा हुने बैठकमा नेताहरुले प्रस्ताव गर्ने बुझिएको छ ।
प्रतिक्रिया