साविकअनुसार नै पशुपतिनाथ मन्दिर खुला
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार २२:६:३३
२८ फागुन, काठमाडौं । महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
विसं २०७६ चैत ११ गते कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो । बिहीबार महाशिवरात्रिपछि आजदेखि भने विसं २०७६ चैत १० गतेसम्म खुला गरिएअनुसार मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिए ।
आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ ।
विशेष पूजा निरन्तर
कोरोनाकालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि शुरु गरेको छ । हाल रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए। पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।
कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । महाशिवरात्रिका अवसरमा बिहीबार भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गरिएको थियो । महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई जना र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चार कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि तय गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए।
शनिबार साधु सन्तको बिदाइ
महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउनुभएका साधुसन्तलाई शनिबार दक्षिणासहित बिदाइ गरिने भएको छ । शनिबार बिहान ९ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम राखिएको कार्यकारी निर्देशक खतिवडाले सुनाउनुभयो । यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ ।
साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेका सामग्री दिएर बिदाइ गरिन्छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।
साधुसन्तको बिदाइ नभएकाले पशुपति क्षेत्रमा आज पनि भक्तजनको चहलपहल छ । महाशिवरात्रिका अवसरमा बिहीबार मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाएका भक्तजन आज बिहानदेखि भीड लागेको कोषले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार