सोमबार , बैसाख ६, २०७८

पद धरापमा परेका माओवादी नेताहरु

पद धरापमा परेका माओवादी नेताहरु

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित केही जनप्रतिनिधिहरु अहिले नेकपा एमालेमा पुगेका छन् । उनीहरुको दलीय हैसियत अब कस्तो रहने र पदको अवस्था के हुने भन्ने अलमललाई माओवादी केन्द्रले आज प्रष्ट्याउने भएको छ ।

विगतमा आफ्नो पार्टीका उमेदवारका रुपमा निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा र प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतको पद अब रिक्त हुने निर्णय माओवादीले गर्दैछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हिजोबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । आजको बैठकले उनीहरुलाई पदमुक्त गर्न निर्वाचन आयोगमा पत्र लेख्ने जानकारी पार्टी स्रोतले दिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकारमा रहेका उनीहरुलाई हिजै स्पष्टीकरण पठाइएको हो । तर कसैले पनि कुनै जवाफ दिएका छैनन् । बरु सार्वजनिक सञ्चारमाध्यममा भने उनीहरुले ओलीकै एमालेमा रहने तर माओवादीमा नफर्कने बताएका छन् ।

हाल पूर्व माओवादीका तर्फबाट ओली सरकारमा गृहमन्त्री थापा, उर्जामन्त्री रायमाझी, शहरी विकास मन्त्री साह, आपूर्तिमन्त्री भट्टलगायत मन्त्रीहरु मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दाबा लामा छन् ।

उनीहरुलाई ओलीले फागुन २८ गते एमाले केन्द्रीय कमिटीमा मनोनयन गरेका छन् । अब माओवादी केन्द्रले उनीहरुलाई अनुशासनको कारबाही प्रकृया अगाडि बढाएपछि सबै पदमुक्त हुने अवस्था आउनेछ ।

यस्तै माओवादी केन्द्रका प्रदेश सांसदहरु पनि ओलीको एमालेमा लागेका छन् । उनीहरुमाथि पनि अनुशासनको कारबाही प्रकृया बढाइने जानकारी माओवादी केन्द्रले दिएको छ । यस्तो अवस्थामा उनीहरुसमेत पदमुक्त हुनेछन् ।

यसरी पद धरापमा परेका प्रदेश सांसद्हरुमा प्रदेश नं. १ बाट टंक आङबुहाङ, प्रदेश नं. २ बाट ज्वालाकुमार साह, लुम्बिनी प्रदेशका दधीराम न्यौपाने र दिनेश पन्थी, कर्णाली प्रदेशबाट ठम्मर शाह र धर्मराज रेग्मी तथा सुदूरपश्चिम प्रदेशबाट झपट रावल रहेका छन । गत निर्वाचनमा उनीहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । अहिले भने एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय