
मिना कंडेल
२ चैत, नवलपुर । पछिल्लो समय एलोपेथिक उपचार पद्धतिबाट उपचार गर्दा निको नभएपछि निराश भएका बिरामीका लागि सामुदायिक प्राकृतिक चिकित्सालय लोकप्रिय बन्दै गएको छ ।
उपचारका लागि पुग्ने अधिकांश बिरामीहरु अस्पतालको सेवाबाट खुशी भएको सुनाउँछन् । अस्पतालको कुशल व्यवस्थापन, कर्मचारीको लगनशिलता र मेहनतले अस्पतालले ख्याती कमाउन सफल हुँदै गएको छ । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले संक्रमितको उपचारमा शतप्रतिशत नतिजा दिएसँगै चिकित्सालयको चर्चा झनै चुलिएको छ ।
संक्रमित मात्र होइन चिकित्सालयका निर्देशक डा. बिनोद पौडेल भन्छन् ‘शुरुवातका दिनमा हाम्रो संरचना नै थिएन, यहाँ आउने बिरामीहरुले झलक्क हेर्दा पत्याउने स्थितिसमेत थिएन, देशका ठूला–ठूला अस्पतालमा पुगेर लाखौ खर्च गरेर उहाँहरु यहाँ आउनुहुनथ्यो तर यहाँ आउदा सानो छाप्रो टिनको छानो देख्दा यहाँ पनि उपचार हुन्छ ? यस्तोमा उपचार गरेर के निको होला भन्नु हुन्थ्यो । उपचारपछि निको हुँदा कतिपय बिरामीहरु घर जानै मान्नुहुन्न थियो ।’
चिकित्सालयमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । वि.सं. २०६३ मा स्थापना भएको चिकित्सालयले वि.सं. २०६४ बाट उपचार सेवा सुरु गरेको थियो ।
हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देशबाट समेत उपचार गर्न आइपुग्छन् । यहाँ आउने बिरामीलाई कम्तिमा १५ दिन अस्पतालमै राखेर उपचार गरिन्छ भने उपचारसहित खाना र बस्नका लागि दिनको ९ सय रुपैयाँ लिने गरिन्छ । चिकित्सालयले १५ वर्षे कार्य योजनासमेत बनाएको छ ।
चिकित्सालयमा करिब सात महिना अस्थायी कोराना अस्पतालको रुपमा रहेर कोराना संक्रमितको उपचार गरिएको थियो । यो अवधिमा ७ सय ८६ संक्रमितको उपचार गरिएको छ । अहिले भने पुरानै लयमा सेवा थालेको छ ।
प्रतिक्रिया