
१० चैत, मुगु । कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरूद्ध छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरूद्ध भएको होे ।
महाबुमा रहेको टावरमार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जिएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति रेडियो लिङ्गमा समस्या आउँदा सेवा अरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए ।
तत्कालका सेवा सञ्चालन गर्न काठमाडौंबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ । उक्त टोली आज साँझ महाबुलेखमा पुगेर बिगे्रको मेशिन मर्मत गरेपछि बुधबारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । उनले भने, “अहिले सामान्य मर्मत सुधार गरेर सेवा सञ्चालन मात्र गर्नेछौँ, वैशाखको पहिलो सातासम्म भारतको कोलकताबाट नेपाल टेलकमले मगाएको क्षमता वृद्घि गर्ने नयाँ मेशिन नेपाल आइपुगेपछि कर्णालीका विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौँ ।” उनका अनुसार वैशाखपछि कर्णालीबासीले गुणस्तरीय र तीव्र गतिको इन्टरनेट तथा भ्वाइस सेवा प्रयोग गर्न पाउने छन् ।
चार दिनदेखि सेवा नहुँदा कर्णालीबासीलाई मुख्यगरी बैंक तथा वित्तीय सेवा, राजस्व सङ्कलन, कार्यक्रम तथा योजनाको भुक्तानी गर्न समस्या परेको छ । इन्टरनेट नभएकै कारण नेपाल पे्रस काउन्सिलले सञ्चालन गरिरहेको ८० घण्टे अनलाइन पत्रकारिता तालिम प्रभावित भएको छ । प्रत्येक दिन बिहान ७ बजेबाट ९ बजेसम्म सञ्चालन हुने पत्रकारिता तालीम लिनबाट आफू वञ्चित भएको प्रशिक्षार्थी पत्रकार हस्तबहादुर भाम बताउछन ।
नेपाल टेलिकमले कर्णालीमा फोरजी सेवा दिएको भने पनि नेटको गति सुस्त हुँदा यहाँका स्थानीय टेलिकमले ठगेको भन्दै आएका छन् । डाटा प्रयोगकर्ता गेहेन्द्रशम्शेर मल्ल भन्छन, “जिएसएम नेटवर्कबाट फोरजी १० जिवीको डाटा आफूले लिँदै आए पनि इन्टरनेटको गति सुस्त हुँदा त्यतिकै सकिन्छ ।”
प्रतिक्रिया