
११ चैत,कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने बताएका छन् । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’मा उनले सरकारले ऐनमार्फत त्यो प्रतिष्ठान अगाडि बढाउने बताए ।
उनले भने, “मुलुकमा साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली, यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सराहनीय छ ।” यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाए । यसको निरन्तरताले नयाँ पुस्तालाई ऊर्जा मिल्ने र यहाँको समृद्धि तथा विकासका साथै उज्ज्वल भविष्य निर्माणमा साहित्य र कलाको विशेष योगदान रहने उनको भनाइ थियो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले कर्णाली सांस्कृतिक र जैविक सभ्यताको केन्द्रबिन्दु भएको बताए । यहाँको सांस्कृतिक सम्पदाको अभिलेखीकरण गर्न त्यसको उत्खनन गर्नुपर्नेमा जोड दिँदै उपकुलपति प्रा डा सिंहले भने, “मान्छे पदले नभई कामले चिनिन्छ, कर्णालीले नोबेल पुरस्कार पाउने गरी काम किन नगर्ने रु” मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यहाँको आदिवासी ज्ञान, कला, सीप संरक्षणको तयारी गरिरहेको उनले जनाए ।
प्रतिक्रिया