बेलायती टोलीद्धारा पाँचखालमा ‘जियोफिजिकल सर्भे’
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १७:१९:५३
१६ चैत,काभ्रेपलाञ्चोक । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ ।
पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्भे गरिएको विभागका पुरातत्व अधिकृत विष्णु पाठकले जानकारी दिए । उनका अनुसार बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–६ को भमरकोटसहित वडा नं ७ को विभिन्न स्थानमा तीन दिन सर्भे गरेको हो । “सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, डाटा एनालाइसिसपछि सर्भेको विस्तृत प्रतिवेदन विज्ञ टोलीले केही समयपछि दिनेछ”, पाठकले भने ।
दुई बेलायती विज्ञ र पुरातत्व विभागका दुई प्रतिनिधिद्वारा बिहीबार शुरु गरिएको पाँचखालको सर्भे शनिबार सकिएको हो । पाँचखालमा बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको पाठक बताउछन् । उनले भने, “जुन–जुन सम्भावित सङ्केत भनिएको क्षेत्रमा सर्भे गरियो, अधिकांशतः सोही स्थानमा सम्भावना देखिएको छ ।” उनका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ ।
पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन नेपालका अन्य क्षेत्रसहित पाँचखालमा जियोफिजिकल सर्भे गरिएको विभागका निर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार यसअघि विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)लाई गत असार (सन् २०२०, जुन २९)मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो ।
गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो । टोलीले मुलुकका छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको छ भने तिलौराकोटमा उत्खनन भइरहेको विभागले जनाएको छ । कपिलवस्तुको तिलौराकोटबाहेक लम्किया र चेत्रादेही क्षेत्रमा सर्भे गरिएको थियो ।
काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाएको छ । सर्भे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।
उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको छ । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइप लाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ । कार्यालयले विसं २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार