म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढ्दो
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १६:३२:३५
२० चैत,म्याग्दी । म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो । जिल्ला सदरमुकाम बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिकरूपमा योग अभ्यास गर्छन् ।
व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बेनीको कालीपुलका व्यापारी तप्तबहादुर भण्डारीले बताए । “दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, उनले भने, “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” उनले विगत पाँच वर्षदेखि नियमित योगाभ्यास गर्दै आएका छन् ।
बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी रेणु शाक्यले अपच हुने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाईन । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उनले भनीन् “रक्तचाप व्यवस्थापन र रुघा लागिरहने समस्या निको भयो ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्रलगायत निकाय र सङ्घ संस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् ।
बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जालीले बताए । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ”, उनले भने, “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”
योगले मानिसको शरीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव भएको हो । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए ।
“बेनी नगरपालिका–८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि तीन वर्षअघि छ आना जग्गा व्यवस्थापन गरेका थियौँ”, उनले भने, “बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न सकेका छैनौँ ।” बेनीको क्याम्पसचोकका नारायण श्रेष्ठ र अम्बिका श्रेष्ठले तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । तीन आना जग्गा खरिद गरिएको थियो ।
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगको प्रवद्र्धनका लागि भवन निर्माणका लागि प्रदेश सरकारसँग पहल गरेको बताईन । जिल्ला समन्वय समितिको सभाहलको छतमा ट्रस राखेर योग साधनास्थल बनाउन छलफल चलाएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार