
२२ चैत, काठमाडौं । केपी ओली सरकारको विकल्प दिन नेपाली काँग्रेस तयार रहेको भन्दै शुक्रबार गरेको निर्णयलाई परिणाममुखी बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलको सक्रियता बढेको छ । कांग्रेसले ओली सरकरको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गराउन पौडेललगायत वहुमत नेतालाई हम्मे हम्मे नै प¥यो । लामो प्रयासपछि पार्टी सभापति शेरबहादुर देउवालाई कन्भिन्स गराइयो ।
कांग्रेस र नेकपा माओवादी केन्द्रको मात्रै गठबन्धनमा ओली सरकार विघटन गर्न नसकिने भएकाले जनता समाजवादी दलको साथ अपरिहार्य थियो । पछिल्लो घटनाक्रमलाई नियाल्दा त्यस्तो सम्भावना दुरुह देखियो । त्यसैले पनि देउवाले निच मारेका थिए । तर वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्रद्वय कृष्णप्रसाद सिटौला–प्रकाशमान सिंहले समेत बल गरेपछि देउवा केही लचक त भए । तैपनि उनले जसपाको भर नभएको भन्दै पन्छन खाजे ।
त्यसको निकास खोज्ने जिम्मा लिए – वरिष्ठ नेता पौडेलले । उनले जसपासँग कुरा मिलाउने जिम्मा मेरो ,तपाई मोर्चा सम्हाल्न तयार हुनुहोस् भनेपछि मात्रै देउवा यस्तो निर्णय गर्न तयार भएका थिए । सोही बमोजिम आज नेता पौडेल मधेशी नेता फकाउने अभियानमा जुटेका छन् । उनका आज सखारै नेता पौडेल जसपा अध्यक्ष महन्थ ठाकुर भेट्न लोहकन्थली पुगे ।
भेटका बेला महन्थ र पौडेलबीच पुराना प्रसंग पनि निस्किए । भेटमा सहभागी एक मधेसी नेताले दिएको जानकारी अनुसार, पौडेलले देउवाको विकल्पमा अरु नै प्रधानमन्त्री मान्न समेत आफूहरु तयार रहेको बताए । अध्यक्ष ठाकुरले अरु दलसँग कुरै नगरी आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेकोमा असन्तुष्टी जनाएपछि नेता पौडेलले सबै सम्भावना खुला रहेको जानकारी दिएका थिए ।
जसपा आफ्नै नेतृत्वमा सरकार बनोस् भन्ने पक्षमा रहेको अनुमान पौडेलले गरेको स्रोतको भनाई छ । कांग्रेस कार्यसमितिले पनि सकेसम्म आफ्नै नेतृत्व नत्र अरुकै नेतृत्वमा समेत ओलीको विकल्प दिन तयार रहेको निर्णय गरेको उनको दाबी छ । महन्थसँगको छलफलले मात्रै निकास त नलेदा तर आइसब्रेक चाहिं हुने उनको भनाई छ । लगत्तै नेता पौडेल राजेन्द्र महतोसँग पनि छलफल गर्न अग्रसर भएका छन् । यी दुई नेता सहमत हुने वित्तिकै ओली सरकारको विकल्प खोज्न सकिने बुझाई पौडेलको रहेको छ ।
जसपाको अर्काे खेमा भने ओलीको विकल्पमा नयाँ सरकार बनाउन तयार छ । संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीलाई तत्कालै विस्थापित गरी नयाँ सरकार बनाउन हतारिएका छन् । नेकपा माओवादीले समेत पहिला जसपासँग छलफल गरेर मात्रै अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । त्यसैले आजका लागि तय गरिएको स्थायी कमिटी बैठकसमेत स्थगित भएको छ । यस प्रयोजनका लागि माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई वार्ता गर्न खटाएको छ ।
प्रतिक्रिया