यसकारण देउवा चुप
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १९:३२:२८
२१ बैशाख, काठमाडौं । सत्ता राजनीतिका माहिर खेलाडी मानिएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अंकगणित नपुगेरै मात्र सत्तासीन हुन अग्रसर नभएका हुन् त ? धेरैले बुझेको वा नबुझेको प्रश्न यही हो ।
विगतमा सत्ताको जोडघटाउमा देउवाका अगाडि अरु सबै कमजोर र फिक्का मानिन्थे । तर यसपटक भने देउवाले सत्ताको लागि खासै पहल गरेका छैनन् । किन भन्दा उनको जवाफ छ–खै त संख्या पुगेको ?
देउवालाई नजिकबाट चिन्नेहरुको विश्लेषण भने अलग छ । उनीहरुको बुझाइमा अहिले देउवा भारतलाई चिढाउन चाहँदैनन् । भारतीय संस्थापन पक्षको रुची यतिखेर प्रधानमन्त्री केपी ओलीकै निरन्तरतामा केन्द्रित रहेको देउवाको बुझाई हो । यस्तो बुझ्नका लागि उनले जनता समाजवादी पार्टीको एउटा पक्षले देखाएको हर्कतलाई आधार मानेका छन् ।
महन्थ ठाकुर र राजेन्द्र महतो उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भन्दा एक कदम अगाडि छन् भारतीय संस्थापन पक्षसँग भन्ने बुुझाइ आम जनतामा पनि रहेको छ । त्यसैले देउवा पनि भारतीय चाहना विपरित सत्ता हत्याउने पक्षमा देखिएका छैनन् । यद्यपि यो कुरा उनले बोल्न भने मिलेको छैन । देउवाको चाहना भनेको आगामी भदौमा एकपटक जसरी भएपनि पार्टी सभापतिमा दोहाेरिने रहेको छ ।
त्यसका लागि पनि उनी भारतीय संस्थापन पक्षको सहयोग रहोस् भन्ने चाहन्छन् । सत्ता त ढिलो चाँडो आफ्नो हातमा आइहाल्ने उनको बुझाई हो । वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन मुश्किल हुने ठम्याई देउवाको छ ।
किनभने ओलीलाई अरु (जसपा) ले सहयोग गरे नै भने पनि पार्टी भित्रकै माधवकुमार नेपाल पक्षले असहयोग गर्नेमा देउवा ढुक्क देखिन्छन् । किनभने यस्तो आशयको अभिव्यक्ति स्वयं नेता नेपालले देउवालाई दिइसकेका छन् । त्यसैले ओलीको सत्ता अब लामो नरहनेमा उनी विश्वस्त देखिएका छन् ।ओलीले विश्वासको मत नपाएपछि वैकल्पिक सरकार बन्न समेत नसक्ने अवस्था आउने देखिएको छ ।
विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन नसकेपछि स्वभाविक रुपमा ओलीले अल्पमतको सरकार बनाउने छन् । उक्त सरकारले विश्वासको मत लिन नसकेपछि संविधान बमोजिम नै अर्ली इलेक्सनका लागि प्रतिनिधिसभा विघटन हुने छ । अनि संभवतः मंसिरमा नयाँ निर्वाचनको मिति तोकिने छ । त्यस्तो अवस्थामा देउवा पार्टीको सभापति पनि हुने र मंसिरमा चुनाव पनि जित्नेमा ढुक्क छन् ।
उनको विश्वास विभाजित कम्युनिष्ट भोटमा आधारित छ । तर यहाँ देउवा चुकेको देखिन्छ । किनभने यथास्थितिमा ओलीले चुनाव गराए भने उनी नै कम्युनिष्ट शक्तिको मूलधार हुने छन् । माधव नेपाल र माओवादी केन्द्रको हालत कमजोर हुने छ ।
०५६ सालमा एमालेबाट फुुटेर बनेको नेकपा मालेको जस्तो हालत माओवादी र माधव नेपाल पक्षको हुने छ । किनभने ओलीले शक्ति र पैसाको दुरुपयोग गरेर सबैको पत्ता साफ गर्ने छन् र एकल भोट प्राप्त गर्ने छन् । ओलीलाई कमजोर नबनाएसम्म नेपाली कांग्रेसले जित्ने कल्पना नगरे हुन्छ । देउवा यहाँ आएर नराम्रो मार खाने अवस्थामा छन् ।
किनभने माधव नेपाल र प्रचण्डहरु बलियो नभएसम्म ओली कमजोर हुने सवालै उठ्दैन । त्यस्तो अवस्थामा ओलीले फेरि पनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर चुनाव नजित्लान भन्न सकिन्न । साथै, दक्षिणको समेत सहयोग र आशीर्वाद रह्यो भने त्यसको सम्भावना अझै बढेर जाने देखिन्छ ।
जसले गर्दा ओलीलाई सत्ताबाट हटाउनै पर्ने बाध्यता रहेको कतिपयको भनाई छ । तर देउवा भने यस्तो तर्क सुन्ने र मान्ने पक्षमा देखिएका छैनन् । ओलीले लिने भनेको विश्वासको मत फेल भयो र देउवाको अग्रसरतामा नयाँ सरकार बनाउने पहल भएन भने हुने त मंसिरको चुनावको घोषणा नै हो । ओलीको चालामाला हेर्दा लाग्दैन उनले तत्कालै चुनाव गर्लान् । मंसिरमा चुनाव गर्ने घोषणा चाहिं गर्ने तर कोरोनालगायत विविध फण्डा उठाएर धकेल्ने काम भयो भने के होला ?
किनभने ओली सत्ताका लागि जस्तो सुकै काम र जोखिम मोल्छन् भन्ने विभिन्न घटनाक्रमले प्रष्ट पारिसकेको छ । त्यसको पछिल्लो श्रृँखला त गण्डकी र लुम्बिनी प्रदेशमा पटाक्षेप भइसकेको छ ।
ओली पनि चाहन्छन् के भन्दा सकेसम्म विश्वासको मत लिने र बाँकी अवधि आनन्दले शासन चलाउने नसके मंसिरमा चुनाव घोषणाको वातावरण तयार गर्ने । ओलीको यो विश्वासको मत प्रकरणले नेपाली राजनीतिमा अर्काे पनि ठूलो प्रकरण निम्तिदैं छ–जसपा विभाजन ।
विश्वासको मत दिने र नदिने पक्षमा जसपा विभाजित छ । दुबै पक्षले हस्ताक्षर संकलन गरिरहेका छन् । त्यसैले बैशाख २७ गते जसपाको विवादले एउटा स्वरुप ग्रहण गर्ने छ – पार्टी एक मत दुई । ठाकुर र महतो ओली पक्षमा उपेन्द्र र डा. भट्टराई विपक्षमा ।
त्यसको परिणाम निश्चित छ– पार्टी विभाजन । ओलीले पोहोरदेखि नै चाहेको अभिष्ट अहिले आएर पूरा हुनेछ –जसपा विभाजन । यो प्रकरण यतिमा मात्रै टुंगिनेवाला छैन । ओलीले माधव नेपालहरुलाई सदाका लागि एमालेबाट लघार्ने मौका समेत पाउनेवाला छन् । उनको लामो समयको सपना पूरा गर्ने साइत जुरेको छ–वैशाख २७ गते ।
किनभने ओलीलाई विश्वासको मत दिने पक्षमा नेता नेपाल पक्ष छैन । चाहे फ्लोर क्रस गरेर होस् वा अनुपस्थित भएर होस् ओली सरकार ढाल्न उनीहरु दृढ देखिएका छन् । समस्या यतिमा सीमित छैन । ओलीलाई पदमुक्त गरेपनि वैकल्पिक सरकार बनेन भने उनी कहिलेसम्म सत्तामा रहने हुन् भन्न सकिन्न । किनभने उनलाई ठूलो भर राष्ट्रपतिको रहेको छ । जहिले जे चाह्यो त्यही गरिदिने राष्ट्रपतिले ओलीलाई बलियो बनाउन जस्तोसुकै असंवैधानिक काम गर्ने अवस्था रहेको छ ।
यो परिवेशलाई नेपाली कांग्रेसले सही र उपयुुक्त ढंगले ट्याकल गरेन भने भोलि आउन सक्ने भयावह अवस्थाको कल्पना गर्न सकिन्न । त्यसैले देउवाले ओलीको विकल्पमा नयाँ सरकार बनाउने प्रयास गरेनन् भने पछुताउनुपर्ने अवस्था नआउला भन्न कठिन छ ।
अब ओलीले विश्वासको मत लिनु अगावै अफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने गरी देउवाले प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता गर्नु बुद्धिमानी हुनेछ । अविश्वास प्रस्ताव दर्ता गर्दा नै ओलीको भावी रणनीति बुझ्न सहज हुन्छ ।
ओली नेतृत्वको सरकारले गर्ने चुनाव कुनै पनि अर्थमा निष्पक्ष हुनेवाला छैन । त्यस्तो अवस्था नआओस् भनेर देउवाले बैकल्पिक सरकार बनाउने प्रयास अहिल्यै गर्नैपर्छ । त्यस्तो अवस्थामा मात्रै माधव नेपाल पक्षले गरेको विद्रोह अर्थपूर्ण हुने छ । नत्र फेरि पनि देशले ओलीतन्त्रबाट मुक्ति पाउने देखिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार