मंगलबार , जेठ ४, २०७८

काठमाडौं उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा, साँझ पसल खोल्न नपाईने, कार्यालयमा एक चौथाई कर्मचारी मात्र

काठमाडौं उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा, साँझ पसल खोल्न नपाईने, कार्यालयमा एक चौथाई कर्मचारी मात्र

२१ वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसको बैठकले निषेधाज्ञामा थप कडाई गर्दै एक साता लम्ब्याउने निर्णय गरेका छन् । पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गर्दै आजको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि खाद्य सामग्रीको पसल विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था थियो ।

साथै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । त्यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीले विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिस बनाएमा आवतजावतका लागि प्रशासन कार्यालयले सहजीकरण गरिदिनेछ । विकास निर्माणका काम गर्न सम्बन्धित आयोजनाले कामदारलाई आवासीय रुपमा नै राख्नुपर्नेछ र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

पत्रकार तथा सञ्चारकर्मीले सूचना विभागको पास देखाएर आवतजावत गर्न सक्नेछन् । सूचना विभागको पास नभएमा कर्मचारीको विवरण सञ्चार गृहले जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ । फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाए मात्र जान पाइनेछ । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय