निषेधाज्ञाको प्रभाव, वृद्धाश्रमको खर्च धान्न मुस्किल
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १६:२०:१
२६ वैशाख,गण्डकी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समाजका हरेक क्षेत्र प्रभावित छन् । यसले ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि उत्तिकै प्रभाव पारेको छ ।महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा त अघिपछि आउने दाता पनि नआउने भएपछि दैनिक खर्च धान्न पनि मुस्किल हुने गरेको छ । दान तथा सहयोग नै आश्रम सञ्चालनको मुख्य आधार रहेको अवस्थामा कोरोनाका कारण गत वर्ष गरिएको लामो समयको बन्दाबन्दीले वृद्धाश्रमहरूलाई प्रभाव पारेको थियो नै यस वर्ष पुनः कोरोना संक्रमणको दोस्रो लहरले सञ्चालकलाई चिन्तित बनाएको छ ।
आध्यात्मिक जागरणका साथै सामाजिक सेवामा समेत अग्रणी बन्दै आएको पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर तथा यहाँ सञ्चालित वृद्धाश्रम तथा गुरुकूलको नियमित सञ्चालनमा कोरोना कहरले प्रभावित बनाइहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले बताए । आध्यात्मिक जागरणसहित निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा स्थापित उक्त मन्दिरमा वृद्धाश्रम तथा गुरुकूल सञ्चालन हुँदै आएको जानकारी दिँदै उनले समय–समयमा आउने दाताको सहयोगले नै वृद्धाश्रम तथा गुरुकूल सञ्चालन भइरहेको बताए ।
मन्दिर स्थापनाको पाँच दशकभन्दा बढी भइसकेको अवस्थामा यहाँको राधाकृष्ण मन्दिरसँगै यसको सक्रियतामा विसं २०६८ देखि वृद्धाश्रम र २०७० देखि गुरुकूल संस्कृत सञ्चालन हुँदै आएका छन् । विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ बाट सञ्चालनमा आएको गुरुकूलमा कक्षा ६ देखि १० सम्मको अध्ययन÷अध्यापन हुँदै आएको छ ।
संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको गुरुकूलमा विभिन्न जिल्लाबाट आएका २३ जना विद्यार्थी अध्ययनरत छन् । वृद्धाश्रमसँगै गुरुकूलमा अध्ययनरत विद्यार्थीका लागि नियमित भोजन व्यवस्थापनका लागि दाताहरूको नै भर पर्नुपर्ने अवस्था रहेको भन्दै खनालले कोरोना महामारीको रोकथामका लागि हुने गरेका बन्दाबन्दी तथा निषेधाज्ञाले दैनिकी सञ्चालनमा नै धौधौ हुने गरेको बताए ।
राधाकृष्ण मन्दिरको आफ्नै इतिहास छ । मन्दिरको पोखरा–३२ लामेआहालमा लगभग ५२ रोपनी जग्गा छ । विसं २०२२ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसीकी भक्तिनी आमाका रूपमा परिचित हरिप्रिया दासीको सङ्कल्प एवं उहाँका गुरु भगवत्शरण देवाचार्यको सक्रियतामा मन्दिर स्थापना गरिएको हो । इतिहासअनुसार तत्कालीन समयमा मन्दिर स्थापनाका लागि राजा महेन्द्रसँग भेटेर जग्गा उपलब्ध गराउन आग्रह गरिएको र तत्कालीन रुपाकोट गाउँ पञ्चायतबाट जग्गा प्राप्त भएको थियो ।
मन्दिर स्थापना भएपछि नेपालका निम्बार्क सम्प्रदायका संस्थापक भगवत्शरण देवाचार्य नै यहाँको पीठाधीश बनेका थिए । भगवत्शरण देवाचार्य वृन्दावनबाट फर्केपछि विसं २००८ मा स्याङ्जा, पाल्पा र तनहुँको सङ्गम केलादीघाटमा निम्बार्क पीठ स्थापना गरी यस सम्प्रदायको प्रचारप्रसारमा लागेका थिए । राधाकृष्ण मन्दिर विसं २०२२ मा स्थापना भए पनि यहाँ वृद्धाश्रमको आवश्यकता महसुस गरी विसं २०६८ देखि सञ्चालनमा ल्याइएको राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले जानकारी दिए । उनका अनुसार स्थापनाकालमा १०÷१२ ज्येष्ठ नागरिकबाट शुरु गरिएको वृद्धाश्रममा अहिले ५५ जना बस्दै आएका छन् । ज्येष्ठ नागरिकको सुविधालाई दृष्टिगत गरी शौचालय, स्नानगृहसहितका छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको उनले बताए ।
“धेरै ज्येष्ठ नागरिक यहाँ आएर बस्नका लागि इच्छुक छन् तर कोठालगायत अन्य व्यवस्थापन गर्न नसकिने भएकाले सबैलाई राख्न सकेका छैनौँ”, उनले भने । वृद्धाश्रमका साथै गुरुकूलका विद्यार्थीको आवास तथा भोजन व्यवस्थापनमा मासिक रु डेढ लाखसम्म खर्च हुने गरेको उल्लेख गर्दै उनले सम्पूर्ण खर्च दान तथा सहयोगबाटै जुटाइने गरेको बताए । कोरोना कहरका कारण हुने गरेका निषेधाज्ञाले दाता आउने क्रम बन्द हुँदा दैनिक कसरी खर्च जुटाउने भन्ने चिन्ता हुने गरेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार