अक्सिजनसहितका अस्पताल बनाउँदै स्थानीय तह
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १७:३०:४३
२६ वैशाख,बलेवा । कोरोना संक्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहले धमाधम अक्सिजनसहितका आइसोलेशन कक्ष र अस्थायी कोभिड अस्पताल तयार गर्न थालेका छन् । जिल्लामा दुई सयभन्दा धेरै सक्रिय संक्रमित भएपछि स्थानीय तहले आफ्नो तयारी थालेका हुन् ।
धौलागिरि अस्पताल बागलुङमा पर्याप्त श्ययाको अभाव छ । बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाले अस्थायी अस्पताल तथा आइसोलेशन कक्ष तयार गरेका हुन् । शुरुआतमा सुस्त देखिएका यहाँका स्थानीय तह संक्रमितको सङ्ख्या बढ्ने र मृत्युसमेत बढेपछि धमाधम तयारीमा लागेका हुन् । बागलुङमा बिहीबार मात्रै दुई सङ्क्रमित र एक लक्षण मिल्ने बिरामीको मृत्यु भएको थियो ।
सदरमुकाम बागलुङ बजार रहेको बागलुङ नगरपालिकाले रातामाटास्थित पुरानो कार्यालय भवनमा ३५ श्यया क्षमताको अस्थायी कोभिड अस्पताल बनाएको छ । अस्थायी अस्पतालमा अक्सिजनसहित आइसोलेशन श्यया तयार गरिएका छन् । धौलागिरि अस्पतालमा २५ श्यया मात्रै रहेको र जटिल बिरामीलाई मात्र उपयुक्त भएकाले नगरपालिकाले आइसोलेशन थपेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ती श्ययाका लागि अक्सिजनको व्यवस्था गरिएको उनले बताए ।
लामो समयसम्म स्थानीय पालिकाले श्यया नबनाएको गुनासो आइरहेका बेला बागलुङ नगरपालिकाले काम थालेको हो । नगरप्रमुख जनकराज पौडेलले निर्माणाधीन श्ययामा स्वास्थ्यकर्मी र अन्य सुविधा थप गर्न गण्डकी प्रदेश सरकारमा अनुरोध गर्ने बताए । स्थानीय स्रोतले भेटेसम्म काम गर्ने र नभएमा प्रदेश सरकारबाट पनि सहयोग जुटाउने पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगर स्वास्थ्य शाखामा पनि स्वास्थ्यकर्मीको दरबन्दी अभाव छ । दरबन्दी थपेर भए पनि सेवा चुस्त बनाउने योजना बनाइएको हो ।
नगर स्वास्थ्य प्रमुख खनालले भने बाहिरबाट आउनेका लागि होल्डिङ सेन्टर निर्माण शुरु गरिएको बताए । बागलुङ–१ को रामरेखामा होल्डिङ सेन्टर राखेपछि शङ्कास्पद मानिसलाई सोझै घरघरमा जान नदिने योजना छ । संक्रमणको दर तीव्र भएकाले उक्त योजनाले यसको नियन्त्रणमा साथ मिल्ने उनको भनाइ छ ।
शुरुआतमा सुस्त भए पनि बागलुङका अन्य पालिकाले पनि आइसोलेसन बढाउन थालेका छन् । ताराखोला गाउँपालिकाले संक्रमितको सङ्ख्या बढेपछि आइसोलेशन श्यया बढाउन शुरु गरेको छ । शुरुमा पाँच श्ययाबाट थालेको अभियान १५ श्यया सङ्ख्या पु¥याउनेमा पुगेको हो ।
साँदीस्थित हिल स्वास्थ्य चौकीमा पहिलो चरणमा कोभिड अस्थायी अस्पतालका रुपमा चलेको थियो । उक्त स्थानमा आइसोलेशन राख्दै ताराखोला–२ स्थित अर्गलमा पनि आइसोलेशन बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । पालिकाले सबै वडामा रहेका स्वास्थ्य चौकीमा पनि अन्य उपचार नियमित गराउने योजना छ ।
हालै निर्माण भएको बहुउद्देश्यीय सभाहलमा कम्तीमा १५ जना बिरामी राख्न सक्ने श्ययाको व्यवस्थापन गरिएको हो । एम्बुलेन्स चालक र अर्का एकजनामा संक्रमण देखिएपछि साता दिनमै ताराखोलामा १० सक्रिय सङ्क्रमित पुगिसकेका छन् । तीमध्ये केही अहिले होम आइसोलेशनमा छन् ।
गाउँपालिकामा एक चिकित्सक र दुई नर्ससहित अन्य स्वास्थ्यकर्मीको दरबन्दी भएकाले तत्काल उपचारका लागि सम्भव हुने र सामान्य लक्षण भएकालाई गाउँमै उपचार गराउन पहल थालेको उनले जानकारी दिए । गाउँपालिकाले अक्सिजन सिलिन्डरसमेत खरीद गरेर ल्याएको उनले जानकारी दिए ।
“जटिल समस्या भएका र निरन्तर ज्वरो आएका बिरामी भएमा बागलुङ पठाउने, नत्र गाउँमै उपचार गराउने योजना छ”, उनले भने, “तत्कालका लागि रु सात लाख रकमान्तर गरेर स्वास्थ्य सामग्री खरीद भइसकेको छ ।” अन्य शीर्षकमा खर्च नभएको बजेट यता खर्चने योजना पनि उनले सुनाए ।
भारतबाट आउनेको निगरानी भइरहे पनि संक्रमण बढिरहेको स्वास्थ्यकर्मी नितु खड्काले बताइन् । खड्काले सामाजिक सञ्जालमार्फत पनि कोरोना भएका बिरामीको उपचारमा घर र अस्पतालमा पनि खटिने जानकारी गराउनुभयो । कोभिड अस्पतालका लागि चाहिने स्वास्थ्य सामग्री खरीद गरेर पालिकामा पु¥याइसकिएको छ । सामान्य लक्षण देखिएका बिरामीलाई गाउँमै उपचार गरेर निको बनाउने लक्ष्य उनीहरूले राखेका छन् । ताराखोलामा संक्रमणमा परेकामध्ये चितवन र अन्य तराईका जिल्लाबाट फर्केका बढी छन् । उनीहरूबाट समुदायमा पनि संक्रमण फैलिएको भेटिएको हो ।
जैमिनी नगरपालिकाले कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई नै कोभिड अस्थायी अस्पतालका रुपमा विकास गरेको छ । स्वास्थ्य केन्द्रमा रहेका श्ययालाई कोरोना सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गरिने स्वास्थ्य शाखाप्रमुख गोविन्द आचार्यले बताए ।
काठेखोला गाउँपालिकाले स्वास्थ्य शाखाप्रमुख रामचन्द्र लामाको नेतृत्वमा आइसोलेशन कक्षको जिम्मेवारी स्वास्थ्यकर्मीलाई दिएको छ । यहाँको एक प्राथमिक विद्यालयमा निर्मित अस्थायी कोभिड अस्पतालमा दश श्यया निर्माण गरिएको लामाले बताए । “हामीले विज्ञापन गरेर माग्दा पनि चिकित्सक पाएनौँ, उपलब्ध जनशक्तिबाट नै आइसोलेशन चल्ने छ”, उनले भने, “अक्सिजन उपलब्ध गराउन भने कठिन छ, अस्पतालसँग सहकार्य गर्छौं ।”
दोस्रो लहरका बिरामीमा अक्सिजनको कमी हुने समस्या धेरै आएको धौलागिरि अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए । अक्सिजनको समस्या भएका बिरामी बढेकाले स्थानीय तहले निर्माण गर्ने अस्पताल र आइसोलेशन कक्षमा अक्सिजन जडान महत्वपूर्ण विषय बन्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार