निषेधाज्ञाका कारण दुग्ध व्यवसाय प्रभावित
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बिहिबार ०:८:५०
२९ वैशाख,राँझा । दूध बिक्री हुन नसक्दा बाँकेमा दुग्ध व्यवसायी किसान निरास बन्न पुगेका छन् । बढ्दो कोरोना संक्रमण रोकथामका लागि तीन हप्तादेखि जारी निषेधाज्ञाका कारण दूधको बिक्री वितरण कम हुँदै गएपछि दुग्ध व्यवसाय प्रभावित बन्न पुगेको हो । दूध बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका किसान मर्कामा परेका छन् ।
दुग्ध व्यवसायीहरुले किसानले उत्पादन गरेको दूधलाई खरीद गर्न कम गरेपछि किसानलाई पालेको गाई भैंसीलाई खुवाउने दाना किन्न पनि मुस्किल पर्न थालेको छ । आठ वटा भैसी पालेर दैनिक करीब ५० लितर दूध बिक्री गर्दै आएका जानकी गाउँपालिका५ बेलहरीका किसान रामसुरत यादवले दूध बिक्री नहुँदा ठूलो समस्या भएको बताए ।
दूधको अधिकतम् उत्पादन हुने यो समयमा दूध तथा दुग्ध पदार्थको कारोवार हुन नसक्दा किसान र सम्बद्ध व्यवसायी सम्भावित आर्थिक नोक्सानीको त्रासमा रहेका छन् । व्यापार हुने समयमा दूध बिक्री वितरण रोकिंदा किसानदेखि व्यवसायीले आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको नेपालगञ्जस्थित मदर डेरी उद्योगका सञ्चालक प्रभातकुमार ठकुरी बताउछन् ।
दैनिक ८०० लिटर दूध खपत गर्दै आएको सो डेरीमा बन्दाबन्दीले गर्दा अहिले जसोतसो २०० लिटर खपत हुने गरेको छ । ‘‘अरु बेला खोजेजति दूध पाइँदैन, यतिबेला दूधको उत्पादन बढी हुने भएकाले व्यापार गर्ने याम पनि हो’’, उनले भने, ‘‘बन्दाबन्दीका कारण सम्पूर्ण होटल तथा पसल व्यवसाय बन्द हुँदा दूधको खपतनै छैन ।’’
उनका अनुसार यतिबेला नियमित दूध लिने किसानलाई तालीका बनाएर आलोपालो प्रणालीमा दूध लिने गरिएको छ । किसानबाट खरीद गरेको दूधको खपत नभएका कारण प्रशोधन गरेर दूध फ्याँक्नु पर्ने बाध्यता रहेको छ । ‘‘अहिले धेरै उत्पादन हुने समयमा किसानको दूध खरीद नगरे उत्पादन कम हुने समयमा नपाइने डरले डेरी उद्योगहरुले किसानसँग पालो गरेर दूध खरीद गर्ने गरेका छौं’, उनले भने, ‘दूध बिक्री हुँदैन, पनीर पनि चल्दैन, किसानको भैसी बचाउनलाई भएपनि दूध खरीद गर्नुपर्ने बाध्यता रहेको छ ।’
दूध, तरकारी, फलफूल, खाद्यान्न, मासु तथा दानाको ओसापसारमा अवरोध नगर्न भनिए पनि बजारमा यस्ता वस्तुको आपूर्ति क्रममा व्यवधान हुने गरेको ठकुरीको भनाइ छ । ‘’गाउँबाट किसानले दूध बिहान ल्याउँछन्, दिनभर प्रशोधन गरेर अपराह्न बजारमा दूध पठाउँदा प्रहरीले फर्काइदिने गरेको छ’’, ठकुरीले भने ।
अहिले करीब ५० प्रतिशत बिक्री घटेको छ । बाँकेमा धेरै दूध सङ्कलन गर्ने खजुरा गाउँपालिकास्थित जनता दुग्ध उत्पादक सहकारीले चार केन्द्रमार्फत दूध खरीद गर्ने गरेकामा अहिले बेलुकाको दूध सङ्कलन सबै बन्द गरेको छ । सहकारीले एक दिन बिराएर बिहान दूध सङ्कलन गरिरहेको व्यवस्थापक गौरव सापकोटाले जानकारी दिए ।
उनका अनुसार जनता दुग्ध सहकारीमा मात्र दैनिक १२ सय लिटर किसानको दूध सङ्कलन हुन सकेको छैन । त्यसको प्रत्यक्ष घाटा किसानले सहनुपर्ने भएको छ । दैनिक १७ सय लिटर सङ्कलन गर्ने जनता दुग्ध सहकारीले हाल मुस्किलले ३५० लिटर दूध किसानसँग खरीद गर्ने गरेको छ । दूध बिक्री हुनै छाडेपछि सङ्कलन गर्न कमी गरेको उनको भनाइ छ ।
निषेधाज्ञाको शुरुका केही दिनसम्म त पुरै दूध सङ्कलन गरी सहकारी सस्थाले छ क्विन्टल पनिर, एक सय किलो घ्यू, छुर्पीलगायत परिकार बनाएर समेत राखेको छ । बिक्री वितरण नभएपछि दूध खरीदलाई घटाउनु परेको सापकोटाले बताए । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले उत्पादन भएकोमध्ये करीब २० प्रतिशत दूध मात्र अहिले खपत भइरहेको जानकारी दिए । सामान्य अवस्थामा सङ्घअन्तर्गतका डेरीमार्फत दैनिक २० हजार लिटरभन्दा बढी दूधको खपत हुने गरेकामा अहिले निषेधाज्ञाको अवस्थामा मुश्किलले चार हजारदेखि पाँच हजार लिटरसम्म दूध खपत भइरहेको उनको भनाइ छ ।
निषेधाज्ञाकै कारण कोहलपुरस्थित दुग्ध विकास आयोजनाले अनिश्चित समयका लागि सहकारीबाट दूध खरीद नगर्ने निर्णय गरेपछि बाँकेमा उत्पादन भइरहेको दूध बिक्री गर्न थप समस्या भएको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष अन्सारीले गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार