आइतबार , असार ६, २०७८

नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस्

नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस्

३ बैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले जनता छटपटाइरहेका बेला सत्ताधारी पार्टी एमाले भने अर्कै धूनमा व्यस्त छ । जनता सामान्य स्वास्थ्य सेवा नपाएर मृत्युवरण गर्न बाध्य छन्, तर सरकार भने तमासे बनेको छ । यस्तो विषम परिस्थितिमा देशको सबैभन्दा पुरानो र धेरैले भरोसा गरेको ठूलो दल नेपाली कांग्रेस त्यसै बस्न मिल्दैन, जनतालाई राहत पुग्ने गरी कांग्रेस अग्रसर हुनुपर्छ ।

यही सन्देश दिन हिजो नेपालबहस डटकमले एउटा बहस चलायो । जुम मिटिङमार्फत सहभागी कांग्रेस नेताहरुले यसै पेरिफेरीमा रहेर कांग्रेसको भूमिका र प्रभावकारिताबारे छलफल गरे । “वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका” विषय उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली कांग्रेसप्रति आस्थावान र पार्टी नेतृत्वमा रहेका व्यक्तिहरुले गम्भिर विषयमा आफ्ना धारणा प्रस्तुत गरे । यसरी आफ्ना धारणा राख्नेहरुमा विभिन्न पेशाकर्मीहरुसमेत रहेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

minओलीवादको संरक्षणको लागि कोरोना फलिफाप भएको देखियो:- मीन विश्वकर्मा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस

महत्वपूर्ण विषयवस्तुमा कार्यक्रम भएकोमा धन्यवाद । म आफैं पनि कोरोनाको पीडा भोगेर आएको व्यक्ति हुँ । जसरी कोरोना भइसकेपछि मलाई उकुसमुकुसले सतायो त्यसैगरी अहिले केपी ओलीको नेतृत्वले मुलुकलाई उकुसमुकुस बनाएको छ ।

२०७४ फागुन ३ देखि ओलीले जे जे काम गरेर आए त्यो सबै अलोकतान्त्रिक छ । असंवैधानिक छ । नेपालको अलोकतान्त्रिकरण, ओलीवादको संरक्षणको लागि कोरोना फलिफाप भएको देखियो । त्यसमा विश्व स्वास्थ्य संगठनले जारी गरेको सुरक्षा मापडण्डको राम्रो उपयोग गर्न पाउने भाग्यमानी पात्र ओली बन्न पुगे ।

bahas congerss

पुर्ववक्ता मित्रको कुरा सुन्दा नेपाली कांग्रेसले राजकीय भूमिका र पार्टीको भूमिका अब्बल बनाउन लाग्नु पर्छ । राजकीय भूमिका निभाउन कांग्रेससँग आवश्यक संसद छैन । जसका कारण हामी आज हारेको मानसिकतामा छौं । हामीले चुनाव ताका महन्थ ठाकुर, बाबुराम भट्राई जस्ता मानिसलाई सहयोग गरेका थियौं तर आज त्यो भुमिका ती व्यक्तिहरुबाट कांग्रेसले पायो त ?

नेपाली कांग्रेस संकटमा जन्मिएको पार्टी हो । आफ्नो सम्पति जीउधन भन्ने अवस्था नरहेको बेलामा बनेको यस पार्टीले जनताका पक्षमा धेरै काम गरिरकेको छ ।

dhilaनेपाली कांग्रेसले सत्याग्रहको आन्दोलन चर्काउनु पर्छ:- डा.डिला संग्रौला, सदस्य प्रतिनिधिसभा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

वर्तमान ओली नेतृत्वको सरकार निकम्मा भएको सबै वक्ताहरुले बताउनु भएको छ । हरेक दिन सयौं मानिस कोरोनाबाट मृत्युवरण गर्न बाध्य छन् । राजनीति बालुवाटार र यसको पेरिफेरिमा भुलिएको छ । कांग्रेसले कोरोनाका बारेमा संसदमा अवगत गराउँदा संसद बन्द गरियो । हुँदाहुँदा तत्कालिन नेकपाको आन्तरिक कलहका कारण संसद विघटनसम्मका घटना भइसकेका छन् ।

ओली सरकारको बहिर्गमनको बाटो पहिल्याउँदा पहिल्याउँदै ओलीले पुनःस्थापित संसद्मा गएर विश्वासको मत माग्ने काम गरे तर विश्वासको मत पाउन नसकेका ओली पुन अल्पमतको प्रधानमन्त्री बन्ने र सत्तामा रहने परिस्थिति हामीले भोगीरहेका छौं ।

सरकारले कोभीड बीमा रोकेको छ । सबै अस्पतालमा सहज अक्सिजनको व्यवस्था गर्न सकेको छैन । घरघरमा रहेका विरामीको अवस्था बुझ्ने काम सरकारले गरेको छैन । यसका लागि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । वैदेशिक सहायताका लागि सरकारबाट माखो मरेन । त्यसैले नागरिकलाई राहत दिने काममा कांग्रेस लागेको छ । सर्वोच्च बार एशोसिएसनले विज्ञप्तिमार्फत स्वस्थ्य संकटकाल लगाउनु पर्छ भन्ने कुराको कांग्रेसले समर्थन गर्दछ ।

महाधिवेशनको लागि असारदेखि व्यापक तयारी गरिने छ । विकेन्द्रीकरणको नीति बमोजिम निर्वाचन प्रणालीमा हामी जानुपर्छ । हामी अतितमुखी नभएर वर्तमानमुखी कांग्रेस हुनको लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामीले सही मान्छेलाई सही ठाउँमा राख्न सकेका छैनौं । कांग्रेसले दोधारे चरित्र देखाउनु भएन । कांग्रेसका नीति र मार्गचित्र सही र यर्थाथपरक हुनुपर्छ ।

यी उल्लेखित कुरालाई चलाउने एउटा भरोसायुक्त नेतृत्व चाहियो । हिजो चुनावमा कांग्रेसले कम्युनिष्ट आउँदा रुन पाइदैन भनेको कुरा हाँसोको विषय भयो तर वास्तवमै आज जनता रोएर बस्नुपर्दाको अवस्था अत्यन्त पीडादायी छ ।

महाअधिवेशन भनेको नीति, त्यसले लिने निर्णय र आम सदस्यहरुको मनोभावनाको प्रतिनिधित्व पनि हो । (चार सको बयान) पहिलो स भने संसद हो । संसद चर्किन र थर्किन पर्छ । फेरि संसद जान पाएमा हामी त्यो कुरा गर्न सक्छौं । नेपाली कांग्रेसले सत्याग्रहको आन्दोलन चर्काउनु पर्छ । अहिलेको यस कठिन परिस्थितिमा सरकारको गलत कामको भण्डाफोर गर्न पछि पर्नु हुँदैन ।

gururajओली कोभीड भन्दा खतरनाक देखिएका छन्:- गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

आज साँच्चै भन्ने हो भने हामी चिन्तित भएर बोल्न नसक्ने अवस्थामा छौ । जनताको अभिभावक बन्नु पर्ने सरकार मुकदर्शक बनेपछि आजको अवस्था हामी भोगिरहेका छौं । कम्बोडियाको झल्को दिने सरकारको गतिविधि देखिएको छ ।

नोबेल पुरस्कार विजेता टोनी मोरिसनको एउटा चर्चित भनाइ छ “यदि तिमी स्वतन्त्र छाैं भने अर्कोलाई पनि स्वतन्त्र बनाउ र यदि तिमी सामर्थवान छौ भने अर्कोलाई पनि सामर्थवान बनाउ ।”

के यो अवस्था अहिले नेपालमा छ त ? पक्कै पनि छैन । कोभीड महामारीमा सरकार गैरजिम्मेवार देखियो । राज्यको अवधारणा जे कामका लागि भएको थियो त्यो कुरा निर्वाह गर्न नसकेपछि सरकारलाई सरकार भनिँदैन । नेपाली कांग्रेस सरकार होइन । तर, पनि सरकारलाई निरन्तर हरेक कुरामा साथ र सहयोग दिँदै आयो ।

प्रतिपक्षको यति राम्रो साथ र सहयोग हुँदा पनि सरकारको नेतृत्वले काम गर्र्र्न सकिरहेको छैन । दुई तिहाई बहुमतको दावी भएको घोषणा गर्ने सरकारले आज आउँदा बहुमत गुमाएर अल्पमतको सरकारको अवस्थामा पुगेको छ । सरकारमा संकट देखियो । प्रधानमन्त्रीको कदमका कारण सत्ता र पार्टी दुवैमा संकट देखियो । संसदीय प्रजातान्त्रिक मान्यतामा सरकारमा संकट देखिएपछि सरकार बनाउने पहिलो प्राथमिकता प्रतिपक्ष दलको हुन्छ । सरकार संकटमा परेपछि सत्ता हातमा लिने काम प्रतिपक्षले गर्नुपर्दथ्यो तर कांग्रेस त्यस कुरामा चुक्यो ।

अर्को कुरा शपथ भनेको कमा फुलिस्टप पनि नबिगारी बाचन गर्ने कुरा हो । के पढ्ने के नपढ्ने भन्ने शपथ लिने मानिसको बशको कुरा होइन ।
महाधिवेशनका विषयमा भन्नुपर्दा सरकारले गरेका नराम्रा काम जनतामा अभिलेखिकरण गरेर भन्नुपर्छ । आज विश्वमा नाङिएको पार्टी सत्तामा छ । यो कांग्रेसको कारणले नै भएको हो । फुटेको एमाले जोडिएर जसपाको साथमा पुनः बहुमतको सरकार बन्ने अवस्था देखिएको छ । यो परिवेशमा कांग्रेस चुप बसेर भोलि जनतामा जाँदा के राम्रो सन्देश जान्छ ?

हामी जिल्ला जिल्लामा मतदान केन्द्र राखेर सबै काम प्रजातान्त्रिक ढंगले सल्टाउँदै तोकिएको मितिभित्र महाधिवेशन गर्न सक्छौं । कोरोना बाहाना मात्रै हो । हामी सुरक्षाको उपाय अपनाएर महाधिवेशन गर्न सक्षम छौं ।

समकालिन नेपालको राजनीति राम्रो बाटोमा छैन । कांग्रेसले प्रजातन्त्रको महत्व बुझाउन सकेन । सत्ताको वरिपरी घुम्ने परिपाटीका कारण कांग्रेसमा २०६४ को नियति दोहोरिन सक्छ । आज वीर अस्पतालमा पुग्नुपर्ने स्वास्थ्य सामग्री कसका आदेशमा कता गईरहेको छ ? डाक्टरले विज्ञप्ति जारी गर्नुपर्ने अवस्था कसरी आयो ? यो दुखको विषय हो ।

आज मुलुक राम्रो मान्छेको हातमा छैन । ओली कोभीड भन्दा खतरनाक देखिएका छन् । हिटलर, मुसोलोनी, इदी अमिन, मदुरो जस्ता चरित्र भएका मानिस ओली बनेका छन् ।

ranjit karnaसरकार हत्यारा भइसकेको छ । सरकारको नेतृत्वमा रहेकालाई मुद्दा चलाउने हो भने सरकार बाँच्न र भाग्न सक्ने ठाउँ छैन:- रन्जित कर्ण, संविधानसभा सदस्य, पूर्वअध्यक्ष नेविसंघ

कोरोनाका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र स्वस्थ्यलाभ गरिरहनु भएका सबैजनामा शीघ्र स्वास्थ्यलाभको कामना । कोरानाको पहिलो चरणमा पश्चिमी मुलुकहरु भयावह अवस्थामा पुगे र नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु हुनुभन्दा दुई महिना अगाडि भारतमा महामारीको रुपमा कोरोना फैलिएको थियो ।

यो समस्या हाम्रो देशमा पनि आउन सक्छ भन्ने कुरा सरकारले समयमा ध्यान दिएको र तयारीमा लागेको भए आज हामी यो महामारीमा अक्सिजन नै नपाएर मर्ने अवस्थामा पुग्नु पर्दैनथ्यो ।  सरकार भ्याक्सिनमा पनि भ्रष्टाचार गर्न तल्लिन देखियो । सरकार हत्यारा भइसकेको छ । सरकारको नेतृत्वमा रहेकालाई मुद्दा चलाउने हो भने सरकार बाँच्न र भाग्न सक्ने ठाउँ छैन ।

हामी सरकारको सन्दर्भमा कुरा गरौं, राजनीतिक विषयमा नेपाली कांग्रेसले गरेका काम समाचारका हेडिङ बन्यो तर नेपाली कांग्रेसले कोरोनाको विषयमा गरेका कामहरु किन समाचारको हेडिङ बनेन ? नेपाली कांग्रेसले अहिलेको सरकारसँग सहकार्य गरेर नागरिकको जीवनरक्षामा लाग्नु पर्ने थियो । भातृ संगठन परिचालन गरेर जो जहाँ थियौं, त्यहीबाट हामीले महामारीका विरुद्ध लाग्नु सक्नु पर्दथ्यो ।

केपी ओलीको विकल्प खोज्ने कांग्रेसले बहुमतको सरकार बनाउने हैसियत बनाउन सक्नु पर्दथ्यो तर कांग्रेस चुक्यो । हामीले महन्थ र उपेन्द्रलाई धेरै सहयोग ग¥यौं । तर उनीहरुलाई सहयोग गर्नु आज कांग्रेसका लागि घातकसिद्ध भएको छ । अहिले राजनीति भन्दा पनि आमनागरिकको जनस्वास्थ्य बचाउने विषय प्रमुख हो ।

pradeep paudelयो सरकार हत्यारा सरकार हो । राज्यसँग चुनाव गराउने पैसा छ तर कोभीडविरुद्ध लड्ने पैसा छैन ? :- प्रदीप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

कोभिडका कारणले ज्यान गुमाउने सम्पूर्ण नेपाली नागरिकप्रति श्रद्धासुमन । अहिलेको परिस्थिति अत्यन्त भयावह छ । हामी सबै सचेत भएर दैनिक जीवनयापनमा सहभागी रहौं । नेपालमा कोभिडले ल्याएको यस महामारीमा नेपाली कांग्रेसले कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ? भन्ने बारे मेरा केही धारणा राख्न चाहान्छु ।

नेपाली कांग्रेसले कानून त बनाउन सक्दैन । तर सरकारलाई आवश्यक सुझाव दिन सक्छ । सरकारले विश्वव्यापी महामारीलाई हेरेर अक्सिजनको मौजदात गर्नुपर्ने हो । तर त्यो भएन । बेलायतमा ६ महिना अघि नै अक्सिजनको हाहाकार भएका समाचार र खबरहरु हामीले सुनेका थियौं । भारतमा नै पनि नेपालमा भन्दा २ महिना अघिदेखि नै अक्सिजनको हाहाकार मच्चिएको थियो । यो कुरालाई विचार गरेर नेपाल सरकारले आवश्यक जोहो र तयारी बेलैमा गरेको भए आजको यस जटिल अवस्था पक्कै पनि आउने थिएन ।

कांग्रेसले अघिल्लो आर्थिक वर्षमा नै कोभीडमुखी बजेट मागेको होे । सांसद विकास कोष बन्द गर भनेका हौं । सरकारलाई सुझाव दिने मामलामा कांग्रेस कमजोर छैन । अघिल्लो पटक नै “एक परिवार एक पीसीआर”को काम गर्न सरकारलाई भनेको हौं । यो सरकारले समयमा भ्यक्सिन ल्याउनै सकेन । सरकार संचालकले नै भ्याक्सिनमा कमिशन खोजेको समाचारहरु आए । यो सरकार हत्यारा सरकार हो । राज्यसँग चुनाव गराउने पैसा छ । तर कोभीडविरुद्ध लड्ने पैसा छैन ? सरकारसँग पैसा नभएको हैन, इच्छाशक्ति नभएर कोरोना रोकथामको काम नगरेको हो ।

सरकारलाई दवाव दिन जरुरी छ । दवाव दिनको लागि नाराजुलुस नै गर्नुपर्छ भनेको होइन । दवाव दिने धेरै शैलीहरु हुन सक्छन् । कांग्रेससँग आबद्ध विभिन्न भातृ संघ, संगठन, डाक्टरहरु कोभीड विरुद्ध लाग्न सक्छौं ।

अहिले नेपालको राजनीति अति नै लथालिङ्ग भएको छ । अहिले सरकारमा जाने कांग्रेसको चाहना होइन । तर, केपी ओली नेतृत्वको विकल्प कांग्रेसले खोजेको हो । ओलीविरुद्ध संगठित हुने कुरामा हामीले सांगठनिक निर्णय गर्नुपर्ने बाध्यताले नै सो कदम उठाएका हौं । केपीको नेतृत्वमा चुनाव भएमा निर्वाचनमाथि नै शंका गर्नुपर्ने हुन सक्छ । नेपालको प्रशासनिक संरचनाबारे हामी जानकार छौं, सोही कारण चुनाव निष्पक्ष हुँदैन ।

लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस तयार छ । महामारीकै समयमा हामीले महाधिवेशन गर्नुपर्ने छ । राजनीतिक दल सम्बन्धी व्यवस्थाका कारण आगामी भदौ १९ भित्र कांग्रेसको महाधिवेशन गर्नु नै पर्छ । समयमा महाधिवेशन सम्पन्न गर्नका लागि वडादेखि केन्द्रसम्मका समितिहरु लाग्नु नै पर्छ । अहिले प्रारम्भिक अवस्थामा ७ लाख ५० हजार क्रियाशील सदस्यहरुको इन्ट्री भएको छ । अझै डेढलाख भन्दा धेरैको नाम इन्ट्री गर्न बाँकी छ । अहिले सार्वजनिक भएका ४० प्रतिशत मात्रै क्रियाशील सदस्य हुन् । बाँकी ६० प्रतिशतको सदस्यता सार्वजनिक हुनु नै बाँकी छ ।

महाधिवेशन बिना कांग्रेसको भविष्य जोखिममा छ । विचार, संगठनको संरचना लगायत हाम्रो मनोविज्ञान र आन्तरिक लोकतन्त्रमा समेत हामी अद्यावधिक हुन जरुरी छ । मलगायतको टोली कोरोना महामारीको यस घडीमा आइसोलेशन स्थापना र राहत स्वरुप स्वास्थ्य सामग्री वितरण गर्ने काममा सक्रिय रुपमा लागेका छौं ।

bahas

महाधिवेशनका कारण कतै पार्टी नै हराउने हो कि भन्ने चिन्ता थपिएको छ:- राजेन्द्र गुरुङ, प्रदेशसभा सदस्य, काठमाडौं–१

सरकार र प्रतिपक्ष दुवैको भूमिका कोरोना रोकथाममा देखिएन । न त कोरोना नियन्त्रणमा सरकारको भूमिका देखिएको छ न त प्रतिपक्षको नै देखिएको छ । तर सरकार र प्रतिपक्ष दुवै दल सत्ता राजनीतिमा मात्रै केन्द्रित भएको देखियो ।

नेपालमा प्रजातान्त्रिक पार्टी कांग्रेसको भूमिका २१ औं शताव्दीमा आइपुग्दा कतै पार्टी नै हराउने हो कि भन्ने अवस्थामा पुगेको छ । लामो इतिहासको जगमा उभिएको पार्टी महाधिवेशनको कारण नै हराउने त होइन भन्ने डर सिर्जना भएको छ ।

अरु पार्टीमा हरेक कार्यकर्ताको लगानी र माया जोडिएको हुन्छ । हामी कहाँ लेबी उठाउने परम्परा नभएकाले पार्टीको माया गर्नेहरुको कमी भो ।

shivaनागरिकको पक्षमा काम गर्न कांग्रेसलाई सत्ता चाहिंदैन:- शिव भट्टराई, वरिष्ठ पत्रकार , गोरखापत्र दैनिक

कांग्रेसले धेरै कुरा गर्न बाँकी छ । इतिहासको कठीन मोडमा कांग्रेसीजन छन् । सरकारले राज्यको सबै संयन्त्रलाई प्रयोग गरेर जनतालाई कसरी राहत दिने भन्दा पनि आफ्नो गुट र मान्छेको पक्ष पोषणमा सरकार लागेको छ ।

नेपाली कांग्रेसलाई अहिले अनावश्यक विवादमा तान्ने काम गरियो । अहिले सरकार बनाउने र भत्काउने खेलमा लाग्ने बेलै थिएन । तर प्रधानमन्त्री केपी ओलीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो गरे । विश्वासको मत लिन कसैले कर गरेको थिएन । नागरिक उपचार नपाएर छटपटाइरहेका बेला संसद्लाई अनावश्यक रुपमा इञ्गेज गर्ने काम गरियो । एकातिर समस्या र अर्कोतिर राजनीतिक गतिविधिमा लाग्ने काम ओलीले गरे । ओली गुटका कारण देशमा आईपरेको राजनीतिक संकट टार्ने काममा कांग्रेसले अग्रसरता लिनैपर्ने बाध्यता थियो । तर सत्ताको खेल त फेरि पनि ओलीले नै खेले ।

एमालेको आन्तरिक समास्या समाधानका लागि भन्दै ओलीले आज फेरि १० सदस्य कार्यदल बनाएका छन् । यो ओलीको नक्कली कुरा हो । पञ्चायतको कालखण्डमा कांग्रेस सरकारमा नभएता पनि बीपी, गणेशमान ,किसुनजी, गिरिजाबाबुले बोल्दा देशमा नै तरंग ल्याइदिन्थ्यो । नागरिकको पक्षमा काम गर्न कांग्रेसलाई सत्ता चाहिंदैन भन्ने त्यो उदाहरण मात्र हो । त्यो भूमिकामा कांग्रेस फेरि देखिनुपरेको छ ।

अहिले जनतालाई राहत चाहिएको छ । राहतका लागि भूमिका खेल्ने काम आमपत्रकारले गर्नुपर्छ । सञ्चार जगत्सँग सहकार्य गर्दै कांग्रेसले नागरिकको जीवनरक्षाका लागि समर्पित हुनु आवश्यक छ । कांग्रेसले आफ्ना पार्टी कार्यालयलाई आइसोलेशन बनाउने गर्नुपर्छ, कतिपय ठाउँमा त भइरहेका छन् , नागरिकसँग जोडिने यो एउटा तरिका हो । यस्तै कांग्रेस नेताले आफ्ना गाडी विरामी बोक्न प्रयोग गर्न दिनेलगायत धेरै राम्रा काम सुरु गरिसकेको छ, त्यसलाई अझ व्यापक बनाइनुपर्छ ।

subodhकांग्रेस मैदानमा नगएर बस्ने हो भने २०५४ को नियति कांग्रेसले भोग्नुपर्ने हुन्छ:- सुवोधकुमार अधिकारी, पूर्व एआईजी, सशस्त्र प्रहरी अधिवक्ता एवं सुरक्षाविद

राजनीतिक पृष्ठभूमि भन्दा टाढा रहेर केही समय सुरक्षा कार्यमा रहें । म नेपाली कांग्रेसको शुभेच्छुक भएको नाताले भन्नुपर्दा अहिलेको अवस्थामा राजनीतिमा छोरी कुटेर बुहारी तर्साउने काम भइरहेको छ ।

तर, यो परिस्थितिले नेपाली कांग्रेस विक्षिप्त हुने अवस्थामा छैन । नेपाली कांग्रेस यसबेला न्यूनतम स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर जनताका माँझमा हुनपर्दथ्यो । तर, खै त ? यस महामारीको बीचमा कांग्रेस मैदानमा नगएर बस्ने हो भने २०५४ को नियति कांग्रेसले भोग्नुपर्ने महशुस मलाई भएको छ । त्यतिखेर बामदेव गौतम गृहमन्त्री हुँदा स्थानीय चुनाव कसरी भएको थियो ? सबैलाइै ज्ञात भएकै हो ।

Bhupendraकांग्रेस महाधिवेशनमा हामीले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको मोडल पनि अपनाउन सक्छौं :- भूपेन्द्रजंग शाही, महासचिव नेपाल तरुण दल, युवा नेता, नेपाली कांग्रेस

अहिलेको परिस्थितिमा कोरोनाले नागरिक आतंकित देखिएका छन् । मृत्युका खबर सामाजिक सञ्जालबाट फैलिँदा म आफै पनि चकित भएको छु । महामारीकै बेलामा पनि हामी हाम्रो दैनिकीलाई राक्दैनौ । यस्तो बेलामा सबै राजनीतिक दल, नागरिक समाज मिलेर नै महामारी नियन्त्रण गर्न सकिन्छ ।

नेपाली कांग्रेसले आफ्नो भूमिका निभाउने प्रयास स्वरुप कोरोनाको पहिलो लहर सुरु हुँदा नै सरकारी कोषमा ५० लाख जम्मा गरेको थियो । त्यो रकम केमा खर्च भयो ? के कामको लागि प्रयोग भयो ? सरकारले सार्वजनिक गरेको छैन । महामारी नियन्त्रणमा सरकारी कोषमा सरकारको नेतृत्व गरिरहेको पार्टीले अहिलेसम्म कति रकम जम्मा ग¥यो ? त्यो कुरा हामीलाई थाहा छैन ।

हामीले सँधै केपी ओलीको विरोध गरेका छौं । तर गुण र दोषका आधारमा मूल्यांकन गर्ने नागरिक नै नरहने अवस्था अहिले बनिरहेको छ ।
भदौ भित्र नै कांग्रेसको महाधिवेशन सक्नुपर्ने बाध्यात्मक परिस्थितिमा हामी छौं । सस्तो र चर्को भाषण सबैले सुनेका छौं, तर वास्तविक कुरामा हामी लाग्नु पर्छ । कांग्रेस महाधिवेशनमा हामीले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको मोडल पनि अपनाउन सक्छौं ।

जनताले सत्तापक्षलाई मात्र होइन प्रतिपक्षको भुमिकालाई पनि हेरेको हुन्छ । ओलीले विश्वासको मत गुमाएपछि कांग्रेसले खेलेको भूमिका राम्रो छैन । बहुमत सांसद नभएको कांग्रेसले सत्ताको लागि गरेका रोइलो राम्रो होइन । यसले आम कार्यकर्तालाई निरास बनाएको छ । कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेड जनताले दिएको हो ।

लोकतन्त्रको मूल्य मान्यता भनेको नै चुनाव हो । चुनावमा जान हामी तयार हुनुपर्छ । चुनाव र पैसाको कुनै तर्कसंगत कुरा छैन । पैसा नभएर अहिले सरकारले महामारी नियन्त्रण गर्न नसकेको होइन । सरकारको नेतृत्व गर्नेले व्यवस्थापन गर्न नसकेका कारण अहिलेको परिस्थिति खडा भएको हो ।

kshitizअहिले कांग्रेसको भूमिका टुक्रिएको एमाले जोड्ने जस्तोमा देखिएको छ :- क्षितिज भण्डारी, युवा नेता, नेपाली कांग्रेस

म मेरो कुरा फिल्डबाट राख्न चाहन्छु । म कोभीडका विषयमा केन्द्रित भएर कुरा राख्छु । म अहिले रहेको क्षेत्रबाट कुरा गरिरहँदा सत्तापक्षका नेता कार्यकर्ताको बाहुल्यता यो क्षेत्रमा धेरै रहेको छ । नेपाली कांग्रेसको न्युन उपस्थिति रहेका कारण हामी जहाँ जहाँ कमजोर छौं, त्यहाँ त्यहाँ कोभीडका कारण पीडित बन्न परिरहेको नागरिकको संख्या धेरै छ ।

एमाले र माओवादी निकट नेता कार्यकर्ता भएका ठाउँमा मात्रै स्वास्थ्यसेवा उपलब्ध हुने, बाँकी ठाउँमा नागरिक कोरोनाका कारण अक्सिजन नपाएर मर्नु परिरहेको छ ।  स्वास्थ्य सामग्रीहरु सातै प्रदेशमा समानुपातिक रुपमा बाँडिनु पर्छ । धनगढीमा विभिन्न संघसंस्थाको पहलमा पैसा उठाएर अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गर्ने तयारी भइरहेको छ ।

पहिलो कुरा भनेको कोरोनाको दोस्रो भेरियन्टबाट आम नागरिक बाँच्नु प¥यो । यदि बीपी कोइराला अहिले जीवित भएको भए कांग्रेसलाई कसरी परिचालन गर्थे होलान् ? त्यो बीपीको सन्देश लिएर हामी स्वस्थ्य सामाग्रीसहित गाउँगाउँ र जनजनको घरमा जानु जरुरी छ ।

पहिलो कोरोना महामारीमा पनि हामीले एउटा जुम मिटिङ राखेर त्यस मिटिङको सुझावलाई हामीले अर्थ मन्त्रालय लगायत सरकारको महत्वपूर्ण पदमा रहेका मानिसलाई सुझाव दिएका थियौं । अहिलेको अवस्थामा हामी सम्पूर्ण रुपमा कोरोना नियन्त्रण गर्नतर्फ लागौं । अहिले कांग्रेसको भूमिका टुक्रिएको एमाले जोड्ने जस्तोमा देखिएको छ ।

जनताको जीउज्यान जोगाउन अब स्वास्थ्य संकटकाल लगाउनुको विकल्प छैन :- अधिवक्ता ऋषिराम घिमिरे, सचिव, सर्वोच्च बार एशोशिएसन

हाम्रो मेरुदण्ड नै नेपाली कांग्रेस हो । तपाईंहरुको पुस्ताले नेपाली कांग्रेसले अहिलेको महामारीमा गरेको काम कारबाही के के हो ? र, त्यसबाट के कस्ता सकारात्मक प्रभाव पर्याे ? यतातिर ध्यान दिनु आवश्यक छ ।

मुलुकमा केपी ओलीको नेतृत्वमा सरकार छ । कोरोना महामारीमा अक्सिजन नपाएर देशका विभिन्न ठाउँमा धेरैको ज्यान गइरहेको छ ।सरकार गैरजिम्मेवार छ । तर यस्तो बेला कांग्रेस कहाँ छ ? जनताले कांग्रेस खोजेका छन् । यस्तो बेला सरकार बनाउन र भत्काउने खेलमा कांग्रेस लाग्नु राम्रो हो ? यो जुझारु नेतृत्वलाई म निवेदन गर्न चाहन्छु । नेपाली कांग्रेस बिना न त लोकतन्त्र छ, न त विधिको शासन हुनेछ ।

यही विषयलाई ध्यानमा राखेर सर्वोच्च बार एशोशिएसनले एउटा विज्ञप्ति निकालेको छ । अब सरकारले ढिला नगरी स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ । बदनियत राखेर हैन जनताको जीउ ज्यान जोगाउन अब स्वास्थ्य संकटकाल लगाउनुको विकल्प छैन । नेपाली नागरिकको जीवन रक्षाका खातिर स्वास्थ्य संकट घोषणा गर्नैपर्छ । नागरिकको जीवनरक्षाका लागि ओली सरकार भन्दा कांग्रेस कसरी प्रभावकारी भूमिकामा रहन सक्छ ? यो भूमिका कांग्रेसको युवा नेतृत्वबाट निर्वाह होस् भन्ने चाहन्छौं ।

Rajendra Centuryसरकारको बिरुद्ध घरघरबाट थाल ठटाएर बिरोध गर्ने बेला आयाे:- राजेन्द्र सेन्चुरी, द्वन्द्व विशेषज्ञ

नेपाली कांग्रेसले अहिले एक हातमा चारतारे झण्डा र अर्को हातमा स्यानीटाईजर र मास्क लिएर जनताको घरमा जानु पर्दथ्यो । त्यसैगरी निकम्मा सरकारको विरुद्ध कांग्रेस खडा हुन सकेन । धरहरालगायत धेरै विकास निर्माणका काम सकियो भन्दै उद्घाटनमा प्रधानमन्त्री निस्कनुले कोभीड महामारी बढ्न र नागरिकहरु अन्तिम समयसम्म पनि सुरक्षाका उपाय नअपनाइकन हिँड्ने परिपाटी देखियो ।

सरकारले धेरै निकम्मा कामहरु गरेका कारण नै आज अस्पताल सञ्चालक र डाक्टरहरु निराश देखिएका छन् । हामीसँग अहिले हरेकका हातमा मोवाइल र सामाजिक सञ्जाल छ । यसैको उपयोग गरेर सरकारलाई दवाव दिने गर्न सक्छौं । हरकेका कौशी र छतमा निस्केर सरकारको बिरुद्ध घरघरबाट थाल ठटाएर बिरोध गर्ने बेला आयो

दूरदराजका जिल्लामा क्वारेन्टाइन र आइसोलेशन सेन्टर छैन । त्यतातिर नेपाली कांग्रेसका नेता कार्यकर्ताले ध्यान पु¥राउन जरुरी छ ।सरकारले सस्तो लोकप्रियता र बचाउका भाषण बाहेक केही गर्न सकेको छैन । सरकार विरुद्ध आम कांग्रेस संगठनले बोल्ने बेला आईसकेको छ ।

indraइन्द्र रिजाल:- प्रधानसम्पादक, नेपालबहस डटकम

आजको भर्चुअल कार्यक्रम उत्साहपूर्वक तवरले समापन भएको छ । यहाँहरुले राख्नुभएका विचारलाई हामी लिपिबद्ध गरेर पुनः नेपालबहस डटकममा प्रकाशन गर्ने छौं ।

सत्ता भन्दा सेवाभावले कांग्रेस मैदानमा ओर्लनुपर्छ:- गणेश केसी:- अधिवक्ताganesha 1

नेपालबहसले आयोजना गरेको यो जूम मिटिङ वास्तवमा धेरै नै उपयोगी र फलदायी बनेको छ । वर्तमान परिप्रेक्षमा नेपाली कांग्रेसले कस्तो भूमिका निर्वाह गर्ने भन्ने सवाल देशका लागि महत्वपूर्ण हो । सत्ता भन्दा सेवाभावले कांग्रेस मैदानमा ओर्लनुपर्छ भन्ने सबैको चिन्ता र चासो देखियो । यसले कांग्रेसलाई नागरिकप्रति समर्पित र सेवाभावमा रहिरहन बल प्रदान गर्ने विश्वास दिलाएको हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय