जडीबुटीले ज्यान बचाउँदै जाजरकोटका सर्वसाधारण
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १७:५६:३०
७ जेठ,जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए । “ गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भने।
त्यस्तै नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामीको सङ्ख्या बढिरहेको छ । गाउँभरि शङ्कास्पद बिरामी बढे पनि परीक्षण र उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताए । “अधिकांशलाई कोरोना भएको आशङ्का छ, तर परीक्षण र उपचार नहुँदा झारफुक र जडीबुटीको उपचारमा भर पर्नुपरेको छ”, उनले भने, “कयौँपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन् ।”
गाउँमा घरघरै बिरामी भए पनि तातोपानी, जडीबुटी र धामीझाक्रीको झारफुकका भरमा बाँचिरहेको खत्रीले बताए । उनले भने, “सबै जना जडीबुटीकै भरमा छौँ, एक÷दुई दिन सञ्चो हुन्छ, फेरि बिमार बल्झिएपछि थला पर्नुको विकल्प छैन ।” परीक्षण गरे गाउँका अधिकांश व्यक्तिमा कोरोना संक्रमण देखिने उनको भनाइ छ । उनका अनुसार संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई समेत परीक्षण गरिएको छैन ।
एक सातायता दिनहुँ पानी पर्न थालेपछि बिरामी बढिरहेको खत्रीले बताए । उनका अनुसार चौराटाका झण्डै ५० घरधुरीमा बिरामी नभएको घरै छैन । बच्चादेखि वृद्धसम्म बिरामी परेपछि गाउँमा त्रास फैलिएको उनले बताए ।“न परीक्षण हुन्छ न उपचार”, उनले भने, “श्वासप्रश्वासमा समस्या देखिए मर्नुको विकल्प छैन ।” गाउँभरि ज्वरो, रुघाखोकी र जिउ दुख्ने बिमारका कारण अधिकांश बासिन्दा लखतरान परेको दम्दालाकी भगवती चन्दले बताए । “गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिदैनन्”, उनले भने, “अब त घरेलु उपचारकै भर छ ।” स्थानीय सरकारले बिरामीको उपचारमा बेवास्ता गरेको उनको गुनासो छ ।
जनप्रतिनिधिले भने परीक्षण र उपचारको काम शुरु भएको दाबी गरेका छन् । कोरोना परीक्षण र अन्य स्वास्थ्य समस्याको उपचारका लागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । “कोरोना हो कि अन्य भाइरल रोग हो भन्नेबारे एक÷दुई दिनमै थाहा हुन्छ”, उनले भने, “बिहीबारबाट स्वास्थ्यकर्मीले घरदैलो थालेका छन् ।”
गाउँ–गाउँमा कोरोना संक्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीको आरोप छ । जिल्ला अस्पताल र केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको छ । “कीट अभाव देखाउँदै परीक्षणको दायरा साँघुरो बनाइएकाले अझै धेरै कोरोनाका बिरामी हुनसक्ने आकलन छ । कोरोना संक्रमितलाई परीक्षण नगरी गाउँ पठाउँदा समुदायस्तरमा संक्रमण फैलिएको बताएको छ । भारतबाट आएका मानिस गाउँ पस्दा संक्रमण फैलिएको छ ।
वैशाख पहिलो सातादेखि हालसम्म एन्टिजेन विधिबाट एक हजार ४०० जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५०७ को पीसीआरमार्फत कोरोना परीक्षण भएको हो । पीसीआर रिपोर्ट ढिलो आउँदा र परीक्षण गरिएका मानिस आइसोलेशनमा नबस्दा थप संक्रमण फैलिने खतरा बढेको जिल्ला स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताए । उनका अनुसार कार्यालयकै पहलमा कीट किन्न खोज्दा पनि काठमाडौँसमेत कीट पाइएन । स्वास्थ्य कार्यालयले प्रदेश सरकारले पठाएका केही कीट स्थानीय तहलाई समेत वितरण गरेको थियो । खरिद गर्न खोज्दा कीट नपाइएपछि परीक्षणको काम प्रभावित भएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।
पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणबाट जाजरकोटमा ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब ४०० ले कोरोना जितेका छन् । जाजरकोटमा ५०० सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए । उनका अनुसार पछिल्लो समय समुदायस्तरमा संक्रमित बढ्दै गएका छन् । कोराना संक्रमणबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए । यता नलगाड नगरपालिकाले बिरामीको पहिचान गर्न पाँच टोली बनाएर गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार