कोरोना कहर: यसपालि पनि रोकिए ऐतिहासिक जात्रा
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार २१:३:५७
८ जेठ, काभ्रेपलाञ्चोक । कोरोना भाइरस उच्च संक्रमण कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन् । कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका बनेपास्थित चण्डेश्वरी जात्रा र पाँचखालको ऐतिहासिक पलाञ्चोक जात्रा राकिएको हो ।
अघिल्लो वर्ष पनि जिल्लामा कोरोना भाइरस उच्च संक्रमणका कारण यी जात्रा साधारण पूजा ‘क्षमा’ गरी सम्पन्न गरिएको थियो । चण्डेश्वरी र पलाञ्चोक भगवती जात्रा यही जेठ १२ र १३ गते मनाइने जात्रा–तिथि परेको छ । बनेपामा सबैभन्दा बढी कोरोना संक्रमित भएकाले गत आइतबारदेखि बुधबार राति १२ः०० बजेसम्म नगरक्षेत्र ‘शिल’ गरिएको छ भने पाँचखालले आज २ः०० बजेदेखि एक साताका लागि नगरक्षेत्र शिल गरेको छ ।
बनेपाका स्थानीय जनप्रतिधि, मन्दिरका पुजारी र गुठियारको बैठकले चण्डेश्वरी जात्रा स्थगित गर्ने निर्णय गरेको छ । “संक्रमणदर फैलिरहेको र मृत्युदर पनि नरोकिएकाले यो वर्ष पनि क्षमा पूजा मात्रै गरी जात्रा रोक्ने निर्णय गरेका छौँ”, नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने । उनका अनुसार स्थानीयवासीलाई पनि आ–आफ्नै घरमा पूजा गरी कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अवलम्बन गर्न अपिल गरिएको छ ।
चण्डेश्वरी जात्राका लागि प्रत्येक वर्ष बनेपालीले चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिङ्गार्ने गर्दथे । दुई दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्थ्यो । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँ जस्तै लाग्ने गर्दथ्यो । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्थे ।
पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार खड्गसँगै जात्रामा सरकारका तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपालीले यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्थ्यो भने बूढापाकाले टोलटोलमा बसी भजन गाउँथे । सडक, गल्लीमा भीड हुन्थ्यो । शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि भक्तजन आउने गरेको स्थानीयवासी जगतबहादुर मानन्धरले बताए । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा ‘मागेको पुग्ने’ कुरामा विश्वास गरिन्छ ।
जात्रामा पूर्णिमाका दिन तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । त्यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका विभिन्न प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउनुपथ्र्यो ।
पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउछन । उनका अनुसार, जात्राको शुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्थ्यो । छुटाउनै हुँदैन भन्ने जनविश्वासअनुसार बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्थे ।
पाँचखालस्थित ऐतिहासिक पलाञ्चोक जात्रा यस वर्ष पनि रोकिएको नगरउपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार पाँचखालमा पनि कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले हाल नगरक्षेत्र शिल गर्नुपरेको छ । पलाञ्चोक भगवती मन्दिरमा पूर्णिमाका दिन क्षमापूजा गरी सम्पन्न गरिनेछ ।
हिन्दू धर्मावलम्बीको विशेष धार्मिकस्थलका रुपमा रहेको पलाञ्चोक भगवती स्थानमा मेला भर्नका लागि पाँचखाल नगरपालिकालगायत आसपासका तेमाल, नमोबुद्ध, भुम्लु, रोशी तथा छिमेकी जिल्ला सिन्धुपाल्चोक, भक्तपुर र काठमाडौंका भक्तजनको भीड लाग्ने गर्दथ्यो । यहाँको एक महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमा रहँदै आएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार