नगरवासीको स्वास्थ्यप्रति नगरपालिका निकै संवेदनशील
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १३:३७:४१
१४ जेठ, स्याङ्जा । कोरोना संक्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर संक्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना संक्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको संक्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि संक्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेका छन् ।
आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल गाउँपालिकामै आयुर्वेदसम्बन्धी औषधि उत्पादन गरेर सोही औषधि र स्वास्थ्यकर्मीको टोली लिएर पालिकाका जनताको घरदैलोमा पुग्छन । पालिकाले आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीसहितको टोलीसँगै सङ्क्रमितको घररमा पुगेर औषधि वितरण गरे । कोरोना संक्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि संक्रमित बिरामीको घरमै पुगेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष पौडेलले गाउँगाउँमा संक्रमण बढ्दो अवस्थामा रहेकाले संक्रमितको घरमै पुगेर आवश्यक परामर्शसहित औषधिसमेत वितरण गरिएको बताए । गाउँमा रोगका लक्षण देखिए पनि उपचारमा चासो नदेखाउनुका साथै त्रसित बनेर बस्ने अवस्था आएकाले गाउँपालिकाको एक टोली नै बनाएर गाउँगाउँमा पुगेको बताए । अध्यक्ष पौडेलले भन्नुभयो, “गाउँघरमा कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले संक्रमितको घरघरमा पुगेर आवश्क परामर्श दिँदै आएका छौँ ।”
गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होमआइसोलेशनमा बसेका पञ्चमुल, चिलाउनेबास, सेतीदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । संक्रमितको घरमै पुगेर भेट गरी स्वास्थ्यमा जटिल समस्या आउने अवस्था आए तुरुन्तै गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क, स्यानिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिनयुक्त औषधि वितरण गर्दा बिरामीमा रोगलाई जित्ने आत्मबल बढ्ने अध्यक्ष पौडेलको भनाइ थियो ।
कोरोना संक्रमणलाई लक्षित गरेर सेतीदोभानमा २० शय्याको कोभिड अस्थायी अस्पताल निर्माण गरेको र गाउँपालिकाका जनताको जीवनरक्षाका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सचेत रहनसमेत पालिकावासीलाई अध्यक्ष पौडेलले आग्रह गरे । आइसोलेशनमा बस्दा लागेको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्योहोर्ने र बाहिरबाट आउनेहरूका लागि पालिकाले बनाएको क्वारेन्टिनमा बस्न चाहनेका लागि निःशुल्क खानाका साथै बस्ने व्यवस्थासमेत मिलाएको गाउँपालिकाका सूचना प्राविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
यसैगरी गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका निकै संवेदनशील रहेको बताउँदै नगरपालिकाले कोरोना संक्रमणबाट प्रभावित भएका गाउँबस्तीमा पुगेर आवश्यक औषधिका साथै परामर्श र सहयोग गर्दै आएको बताए । कोरोना संक्रमणबाट बच्ने भनेकै स्वास्थ्य मापदण्डको पालना गर्नुका साथै सचेतना अपनाउनु नै अहिलेको आवश्यकता भएकाले नगरपालिका अहिले यही अभियानमा रहेको बताए ।
नगरप्रमुख अधिकारीले भने, “हामी अहिले नगरवासीलाई कोरोनाको संक्रमण हुनबाट कसरी सुरक्षित गर्न सकिन्छ भनेर लागिरहका छौँ, गल्याङ नगर अस्पताललाई कोभिड अस्पतालका रूपमा अक्सिजनसहितको सेवा दिएर बिरामीको उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।” अस्पतालमा रहेका एम्बुलेन्सले संक्रमित बिरामीका लागि निःशुल्क सेवा दिइरहेको र थप आवश्यक परे बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान नगरपालिकाको सवारी साधनसमेत तयारी अवस्थामा राखिएको नगरप्रमुख अधिकारीले जानकारी दिए ।
संक्रमणबाट बढी प्रभावित भएको नगरपालिकाको ११ नं वडा जिमुहामा औषधिसहित नगरप्रमुख अधिकारी, स्वास्थ्यकर्मीलगायत टोलीले औषधि वितरण गर्नुका साथै आवश्यक परामर्शसमेत दिएको थियो भने नगरभित्रका वडामा संक्रमणलाई थप फैलिनबाट रोक्न नगरपालिका स्वास्थ्य शाखाको टोली पुगेर निःशुल्क एन्टिजेनसमेत परीक्षण गरिएको नपाले जनाएको छ ।
कोरोना संक्रमणबाट त्रसित बनेका संक्रमित आफ्नै घरआँगनमा औषधिसहित स्वास्थ्यकर्मी टोली लिएर जनप्रतिनिधि आइपुग्दा खुशी लागेको बताउँछन् । स्थानीय तहका प्रमुखलगायत टोलीले संक्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवं सुझाव दिँदा संक्रमितले राहत महसुस गरेका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार