मंगलबार , असार १, २०७८

रसुवा अस्पतालमा पहिलोपटक भेन्टिलेटर उपलब्ध

रसुवा अस्पतालमा पहिलोपटक भेन्टिलेटर उपलब्ध

२१ जेठ,रसुवा । रसुवा अस्पतालमा पहिलोपटक भेन्टिलेटर उपलब्ध भएको छ । बुधबार निवर्तमान सांसद मोहन आचार्यले भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यद्वारा मिनी भेण्टिलेटर चार थान, अस्पताल भर्ना भएका बिरामी सुताउने शय्या पाँच, अक्सोमिटर ३० वटा एवं सर्जिकल मास्क तीन हजारसमेत रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण भएका सामग्री धुञ्चेमा रहेको जिल्ला अस्पताल र जीवजीवेमा रहेको ग्रामीण अस्पताललाई बराबर दिने आचार्यको निर्देशनबमोजिम प्राप्त सामग्री अस्पतालमा पठाइसकिएको प्रजिअ ढकालले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोभिड–१९ को जटिल अवस्थामा आचार्यद्वारा प्राप्त सामग्री जनहितकारी भएको कोभिड नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ । शरीरमा अक्सिजन कमी हुन गई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारमा सहज पार्ने पबित्र भावले जिल्लामा रहेका दुईवटा अस्पताललाई आफ्नो व्यक्तिगत तवरबाट भेन्टिलेटरसमेत सहयोग प्रदान गरेको आचार्यले बताए ।

कोभिड–१९ को पहिलो संक्रमणमा समेत आचार्यबाट स्वास्थ्य सामग्री प्रदानका साथै कोरोना संक्रमणको अवस्थामा बिहान–बेलुका छाक टार्न मुस्किल भएका ५०० भन्दा बढी विपन्न परिवारलाई आफ्नोतर्फबाट खाद्य सामग्री प्रदान गर्नुका साथै कोरोना नियन्त्रण अग्रपङ्क्तिमा काम गर्ने ५०० भन्दा बढी व्यक्तिलाई स्वास्थ्य बीमा गराएका थिए ।

एउटा पनि भेन्टिलेटर व्यवस्थापन गर्न नसकिएको अवस्थामा निवर्तमान सांसद आचार्यबाट प्रदान भएका भेन्टिलेटरले अब स्थानीयस्तरमै जटिल बिरामी उपचार गर्न सहज भएको रसुवा अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा भुवन केसीले बताए । रसुवामा भेन्टिलेटर नहुँदा जटिल बिरामीलाई नुवाकोटको त्रिशूली र काठमाडौँका अस्पतालमा सिफारिश गर्नुपर्ने समस्या सांसद्को सहयोगले हल भएको स्वास्थ्यकर्मीले बताएका छन् । रसुवाली नागरिकको उपचारमा सहयोग गर्ने नुवाकोटको त्रिशूली अस्पताललाई समेत मिनी भेण्टिलेटर र आइसीयूका उपकरणसमेतका सामग्री आचार्यले प्रदान गरेका अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय