सोमबार , असार ७, २०७८

ओलीले राखेको प्रस्ताव अल्मल्याउने र विभाजन गर्ने दुरासय: नेपाल समुह

ओलीले राखेको प्रस्ताव अल्मल्याउने र विभाजन गर्ने दुरासय: नेपाल समुह

२४ जेठ, काठमाडौं । नयाँ दल गठनको तयारीमा रहेका एमालेका नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले २०७५ जेठ ३ को पार्टी संगठनलाई सक्रिय बनाउने भनी गरेको प्रस्तावलाई सिधै अस्वीकार गर्दै शर्तरहित एकताको पक्षका रहेको जनाएको छ । नेपाल समूहले अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्ताव अल्मल्याउने र विभाजन गर्ने दुरासयबाट आएको निष्कर्ष निकाल्दै पार्टी एकतालागि कुनै पनि शर्त मान्य नहुने जनाएको छ ।

‘२०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ। यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न। यो अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँ ‘ओली’को वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ ।’ आफूनिकट स्थायी कमिटीका सदस्यहरुको बैठकपछि जारी गरेको विज्ञप्तिमा ओलीमा विधानअनुसार अघि बढ्ने सोच नदेखिएको भन्दै आफू पक्षको संगठन निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल गर्नका लागि सोमबार नेपाल निकट स्थायी कमिटीका सदस्यहरुको भर्चुअल बैठक भएको थियो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि अदालतले दिएको १५ दिनको समयभित्र एमालेको बैठक बोलाएर एकीकरणको प्रयास किन नगरेको भन्दै प्रश्न उठाइएको छ । नेपाल पक्षको विज्ञप्तिमा पार्टी एकतालाई अक्षुण राख्नका लागि नवौं राष्ट्रिय महाधिवेशनको निर्णय, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाको अन्तर्यअनुसार अध्यक्ष ओलीको धारणा नआएको निष्कर्ष निकालिएको छ ।

प्रधानमन्त्री ओलीको प्रस्तावको पहिलो बुँदाले एकताका लागि भन्दा पनि अनेकता सिर्जना गर्नका लागि ल्याइएको नेपाल पक्षको दाबी छ । अध्यक्ष ओलीले आइतबार साँझ छ बुँदे प्रस्ताव गरेका थिए जसमा २०७५ जेठ ३ गते पूर्वको संगठन क्रियाशील बनाउने उल्लेख थियो । त्यसपछि नेपाल समूहले सोमबार औपचारिक धारणा सार्वजनिक गरेको हो । ‘हामीले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै सर्वोच्च अदालतको फैसला तथा नेकपा ‘एमाले’ को नवौं महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी संगठनलाई पूर्ववत् सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ ।

तर त्यसप्रति केपी शर्मा ओलीको सकारात्मक दृष्टिकोण र व्यवहार रहेको पाइएन । अहिले उहाँबाट भनिएको “रचनात्मक योगदान” सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ । अन्यथा आफुले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन’, नेपाल पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय